काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको बानेश्वर प्रहरी वृत्तको भवन पुनर्निर्माण सम्पन्न भएपछि शुक्रबार एक कार्यक्रमका बीच नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ।
भवन मर्मत सम्भार तथा पुनर्स्थापना समितिले पुनर्निर्माणको सम्पूर्ण काम सम्पन्न गरी औपचारिक रूपमा भवन हस्तान्तरण गरेको हो। समितिका अनुसार भवनको मर्मत, पुनर्स्थापना तथा स्तरोन्नतिका लागि करिब १ करोड ५० लाख रुपैयाँ खर्च गरिएको छ।
पुनर्निर्मित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, प्रतिनिधिसभा सदस्य रञ्जु दर्शना, सुनिल केसीलगायत उच्च प्रहरी अधिकारी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट प्रहरी वृत्तको भवनमा ठूलो क्षति पुगेको थियो। त्यसपछि सेवा प्रवाह तथा सुरक्षा व्यवस्थापन प्रभावित बनेको अवस्थामा स्थानीय स्तरमा क्याप्टेन रमेश श्रेष्ठको संयोजकत्वमा भवन मर्मत सम्भार तथा पुनर्स्थापना समिति गठन गरिएको थियो।
समितिको पहलमा पुनर्निर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको र आधुनिक तथा सुविधासम्पन्न संरचनाका रूपमा भवनलाई पुनः निर्माण गरिएको जनाइएको छ।
भवन हस्तान्तरणसँगै बानेश्वर क्षेत्रमा प्रहरी सेवा प्रवाह, सुरक्षा व्यवस्थापन तथा नागरिकलाई प्रदान गरिने सेवाहरू थप प्रभावकारी र व्यवस्थित हुने अपेक्षा गरिएको छ।




