डोटी । विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले डोटीको जोरायल गाउँपालिका–२, बुडरमा नयाँ विपद् व्यवस्थापन बेस स्थापना गरेको छ। बेसको उद्घाटन सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया, कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिग विजय सुवेदीले गरेका हुन्।
बुडरमा नयाँ बेस स्थापना भएसँगै सुदूरपश्चिम प्रदेशमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेसको संख्या तीन पुगेको छ। यसअघि डडेल्धुरा सदरमुकाम र कैलालीको डुडेझारीमा यस्ता बेस स्थापना भइसकेका छन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै डीआईजी सुवेदीले विपद्को समयमा प्रत्येक क्षण महत्वपूर्ण हुने उल्लेख गर्दै नवस्थापित बेसले विपद् पूर्वतयारी, उद्धार तथा राहत कार्यलाई थप छिटो, प्रभावकारी र परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले सशस्त्र प्रहरी बल नं. ७ बैद्यनाथ बाहिनीमा तालिमप्राप्त गोताखोर तथा प्रदेशका सबै जिल्लामा विपद् व्यवस्थापनका लागि दक्ष जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिए।
डीआईजी सुवेदीले सुरक्षा युनिट स्थापना मात्र पर्याप्त नभई त्यसलाई आवश्यक स्रोत–साधनले समेत सुसज्जित बनाउनुपर्नेमा जोड दिए। विपद् व्यवस्थापनमा स्थानीय सरकार, प्रदेश सरकार तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

उनले सशस्त्र प्रहरीले तयार पारेका समुदाय विपद् स्वयंसेवक र विपद् सूचकलाई संस्थागत गरी सबै निकायले अपनत्वका साथ समन्वयात्मक रूपमा परिचालन गर्न सके मात्रै विपद् उद्धार कार्य थप प्रभावकारी बन्ने बताए।
कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले विपद् व्यवस्थापन बेसलाई आवश्यक स्रोत–साधन उपलब्ध गराउन स्थानीय तह प्रतिबद्ध रहेको बताउँदै समन्वयात्मक ढंगले काम गर्ने प्रतिबद्धता जनाए।
सशस्त्र प्रहरी बलले विभिन्न पालिकामा समुदाय विपद् स्वयंसेवक तालिम, पानीजन्य विपद् सम्बन्धी कृत्रिम घटना अभ्यास (सिमुलेसन) लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालै जेठ २९ गते कैलालीको चिसापानीस्थित कर्णाली नदीमा सशस्त्र प्रहरीको संयोजनमा बृहत् विपद् सिमुलेसन अभ्यास सम्पन्न भएको थियो।
उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जमुना कुमारी बोहरा, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी, समाजसेवी, निर्माण व्यवसायी, समुदाय विपद् स्वयंसेवक, विपद् सूचक तथा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
