उदयपुर । नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान बाबुराम भट्टराई आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। उदयपुरको बेलका नगरपालिका–४, लालबजार स्थायी घर भएका २५ वर्षीय भट्टराई इलाका प्रहरी कार्यालय हरिनगर, सुनसरीमा कार्यरत थिए।
प्रहरी स्रोतका अनुसार भट्टराई केही दिनअघि बिदा लिएर घर आएका थिए। बिदाकै क्रममा उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि धरान पठाइएको प्रहरीले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेकाले प्रहरीले विभिन्न पक्षबाट अनुसन्धान अघि बढाएको छ। पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानको निष्कर्षपछि घटनाबारे थप विवरण खुल्ने अपेक्षा गरिएको छ।
प्रहरी जवान भट्टराईको असामयिक निधनले परिवार, आफन्त तथा प्रहरी संगठनलाई स्तब्ध बनाएको छ। दिवंगत प्रहरी जवान बाबुराम भट्टराईप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।
