काठमाडौं । सर्लाही प्रहरीले स्रोत नखुलेको नगद ३२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका–३ निवासी २८ वर्षीय गुडु कुमार यादव र २४ वर्षीय रुपेश कुमार यादव रहेका छन्। उनीहरू भारतबाट नेपालतर्फ आउँदै गर्दा मलंगवा नगरपालिका–१० स्थित झिम पुल नजिकबाट पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिशाल बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा म.प्र. ०५–००१ प ११०६ नम्बरको मोटरसाइकल रोकी खानतलासी गर्दा ठूलो परिमाणमा नगद फेला पारेको थियो।
प्रहरीका अनुसार बरामद रकममध्ये १ हजार दरका २ हजार ५०० थान, ५ सय दरका १ हजार ३०० थान र १ सय दरका ५०० थान नोट रहेका छन्। बरामद रकम जम्मा ३२ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
रकमको वैध स्रोत खुलाउन नसकेपछि दुवै जनालाई नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
