काठमाडौं । राहदानी छपाइसम्बन्धी खरिद प्रक्रियामा भएको भनिएको अनियमितता प्रकरणमा बयानका लागि बोलाइएकी नेपाली कांग्रेस नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफू हाल विदेशमा रहेकाले उपस्थित हुन नसक्ने जानकारी दिएकी छन्।
अख्तियारले असार २ गते देउवाको निवासमा म्याद टाँस गर्दै तीन दिनभित्र आयोगको टंगालस्थित कार्यालयमा उपस्थित भई बयान दिन निर्देशन दिएको थियो। सोही म्यादको जवाफमा देउवाले इमेलमार्फत आफू विदेशमा रहेको र तोकिएको अवधिभित्र उपस्थित हुन नसक्ने जानकारी गराएकी हुन्।
यद्यपि, उनले आफू हाल कुन देशमा रहेको भन्ने विवरण भने खुलाएकी छैनन्। स्रोतका अनुसार देउवा हाल हङकङमा रहेको बताइएको छ।
अख्तियारले राहदानी छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे अनुसन्धान गरिरहेको छ। यसक्रममा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, जर्मन कम्पनी मुल्हबाउरका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल तथा विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
आयोगको प्रारम्भिक अनुसन्धानमा राहदानी खरिद प्रक्रियामा मिलेमतो गरी करिब ८ अर्ब रुपैयाँ बराबरको अनियमितता भएको आशंका गरिएको छ। सोही प्रकरणमा देउवासँग समेत बयान लिन अख्तियारले म्याद जारी गरेको हो।
उनी निर्धारित समयभित्र उपस्थित नभएपछि आयोगले अब के कदम चाल्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
