काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी पोशाक खरिदमा हुने भनिएको अनियमितता, बिचौलियाको चलखेल तथा ‘सेटिङ’ संस्कृतिलाई नियन्त्रण गर्न नयाँ व्यवस्था लागू गर्ने तयारी भइरहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री गुरुङले प्रहरी पोशाक खरिद प्रक्रियाबारे विगतदेखि नै विभिन्न गुनासा आउने गरेको उल्लेख गरे। उनले पोशाक खरिदमा खर्च हुने रकम सम्बन्धित सुरक्षाकर्मीलाई नै उपलब्ध गराएर उनीहरूले आवश्यक पोशाक आफैं खरिद गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए।
“प्रहरीको पोशाक खरिदमा जहिले पनि सेटिङ हुने गरेको हामीले सुन्दै आएका छौँ,” गृहमन्त्री गुरुङले भने, “त्यसैले अब पोशाक खरिदका लागि छुट्याइने रकम सम्बन्धित प्रहरी कर्मचारीलाई नै दिने र उहाँहरूले आवश्यक पोशाक आफैं खरिद गर्ने व्यवस्था गर्ने सोच बनाएका छौँ।”
उनले यस्तो व्यवस्थाले पोशाक खरिद प्रक्रियालाई थप पारदर्शी बनाउनुका साथै सम्भावित भ्रष्टाचार, अनियमितता र बिचौलियाको प्रभाव न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
गृहमन्त्री गुरुङका अनुसार राज्यको स्रोत–साधनको प्रभावकारी उपयोग गर्दै सुरक्षाकर्मीलाई आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित यो अवधारणा अघि सारिएको हो। प्रस्तावित व्यवस्था कार्यान्वयनमा आएमा प्रहरी पोशाक खरिद प्रणालीमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ।
