काठमाडौं । नक्कली वाकिटकी प्रयोग गरी आफूलाई प्रहरी कर्मचारीका रूपमा प्रस्तुत गर्दै सर्वसाधारणलाई धम्क्याउने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ का ४७ वर्षीय शैलेश डंगोल रहेका छन्। उनलाई प्रहरी वृत्त काँडाघारीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार डंगोलले प्रहरीको परिचय दुरुपयोग गर्दै सर्वसाधारणलाई धम्क्याउने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। पक्राउका क्रममा उनको साथबाट एक अनलाइन सञ्चारमाध्यमको नवीकरण नगरिएको प्रेस कार्ड तथा नक्कली वाकिटकी बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार डंगोलमाथि प्रहरीको परिचय दुरुपयोग गरी सर्वसाधारणलाई धम्क्याएको आरोपमा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्तिबाट सचेत रहन तथा शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
