काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत रहेको कोटेश्वर प्रहरी प्रभागमा कार्यरत रहँदा इन्स्पेक्टर यज्ञराज राज भट्टमाथि विभिन्न अनियमितता र विवादास्पद गतिविधिमा संलग्न रहेको आरोप सार्वजनिक भएको छ।
स्रोतका अनुसार प्रभागमा कार्यरत रहँदा भट्ट निकट मानिएका सिभिल घुमुवा प्रहरी सहायक हवल्दार कृष्ण जिसी र प्रहरी जवान मुकेश सुनारमाथि समेत विभिन्न उजुरी परेपछि उनीहरुलाई नक्सालस्थित प्रहरी कार्यालय तानिएको छ।
उनीहरूमाथि चिया पसलेमाथि कुटपिट गरेको, होटल, दोहोरी तथा क्लबहरूलाई निर्धारित समयभन्दा बढी सञ्चालन गर्न मिलेमतो गरेको तथा अवैध गतिविधिमा संरक्षण दिएको आरोप समेत लागेको थियो।
यस्तै, कोटेश्वरस्थित रोयल ब्यांक्वेट पछाडिको खोलाबाट रातिको समयमा चोरी पैठारी शैलीमा बालुवा उत्खनन गराउने र त्यसलाई सहजीकरण गरेको आरोपसमेत स्रोतको दाबी छ। उक्त घटनासम्बन्धी भिडियो प्रमाणसमेत आफूहरूसँग रहेको भन्दै स्रोतले नाम नखुलाउने सर्तमा जानकारी दिएको छ।
पीडित तथा विभिन्न समस्या लिएर प्रहरी कार्यालय पुगेका सेवाग्राहीसँग समेत विभिन्न बहानामा रकम माग्ने गरिएको आरोप छ। इनार, पानी ट्यांकीलगायतका सामग्री खरिद गर्नुपर्ने भन्दै रकम संकलन गर्ने गरेको गुनासोसमेत आएको स्रोतको दाबी छ।
जडीबुटी–कोटेश्वर क्षेत्रमा होटल तथा लजहरूमा खुला रूपमा वेश्यावृत्ति सञ्चालन हुन दिएको आरोपसमेत भट्टमाथि लागेको छ। पछि ती गतिविधिमाथि मानव बेचबिखन अनुसन्धान ब्युरोले कारबाही गरी मुद्दासमेत चलाएको थियो।
त्यसैगरी, क्यूआरटी (QRT) को नाममा बीपी राजमार्ग हुँदै काठमाडौं भित्रिने भन्सार छलीका सामानलाई सहजीकरण गर्ने तथा लाइन मिलाउने काम भएको आरोप पनि सार्वजनिक भएको छ।
यसैबीच, इन्स्पेक्टर भट्टको प्रदेश प्रहरी कार्यालय धनुषामा सरुवा भइसकेको भए पनि उनले हालसम्म रमाना नबुझेको चर्चा प्रहरी वृत्तभित्र भइरहेको छ। अन्य प्रहरी अधिकृतहरू सरुवा भएको स्थानमा हाजिर भइसके पनि भट्ट भने विभिन्न शक्तिकेन्द्रको आडमा काठमाडौं उपत्यकामै काज मिलाएर बस्न प्रयासरत रहेको स्रोतको दाबी छ।
उता, जेनजी आन्दोलनका क्रममा आफ्नो निजी सामान जलेको भन्दै भट्टले विभिन्न व्यक्तिसँग आर्थिक सहयोग मागेको आरोपसमेत लगाइएको छ।
उक्त आरोपहरूको सम्बन्धमा इन्स्पेक्टर भट्टको प्रतिक्रिया भने प्राप्त हुन सकेन।
