काठमाडौं । दाङ प्रहरीले ५२ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सुनसहित दुई जनालाई पक्राउ गर्दै सुन तस्करीको सम्भावित सञ्जालबारे अनुसन्धान थालेको छ। होटलको कोठामै सुनको खरिदबिक्री भइरहेको सूचनापछि गरिएको प्रहरी अपरेशनमा उनीहरू रंगेहात समातिएका हुन्।
इलाका प्रहरी कार्यालय अमेलियाको टोलीले लमही नगरपालिका–९ अमेलियास्थित नमस्ते होटलमा छापा मार्दा २१४।५०० ग्राम सुन बरामद गरेको छ। बरामद सुनको बजार मूल्य करिब ५२ लाख ७४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका–७ सुनपतरी नाकाका ४० वर्षीय रुपलाल गिरी र रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–६ मग्माका २२ वर्षीय दिलिप परियार रहेका छन्।
प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको सुनको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा होटलमा निगरानी बढाइएको थियो। त्यसपछि गरिएको छापामार कारबाहीका क्रममा सुनसहित दुवै जनालाई नियन्त्रणमा लिइएको हो।
दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीका अनुसार प्रारम्भिक अनुसन्धानबाट रुपलाल गिरीले भारतबाट सुन ल्याएको र दिलिप परियार उक्त सुन खरिद गर्न अमेलिया पुगेको खुलेको छ। घटनाले भारतबाट भित्रिने अवैध सुनको सम्भावित नेटवर्क र त्यसको नेपालभित्रको कारोबार श्रृंखलाबारे थप प्रश्न उठाएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद सुन नियन्त्रणमा लिएर दुवै अभियुक्तमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। साथै सुनको स्रोत, त्यसको अन्तिम गन्तव्य तथा यसमा संलग्न अन्य व्यक्तिको खोजीसमेत तीव्र पारिएको बताइएको छ।
हाल दुवै जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ। प्रहरीले यो घटनालाई सामान्य खरिदबिक्रीभन्दा बाहिरको संगठित अवैध कारोबार हुनसक्ने आशंकाका साथ अनुसन्धान अगाडि बढाएको जनाएको छ।
