काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेशनमा गोली प्रहार गरी नियन्त्रणमा लिइएको कारबाट ३० हजार क्याप्सुल ट्रामाडोल बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा दुई भारतीयसहित तीन जनालाई पक्राउ गरिएको छ।
ब्युरोका अनुसार बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ९२०१ नम्बरको रातो रंगको सुजुकी कारमार्फत ठूलो परिमाणमा ट्रामाडोल भित्र्याइँदै गरेको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।
असार ३० गते ललितपुर महानगरपालिका–२३ स्थित गैरीगाउँ क्षेत्रमा निगरानीका क्रममा उक्त कार र त्यसको सुरक्षा तथा समन्वयमा रहेको बा.५२ प.५४५७ नम्बरको मोटरसाइकललाई रोक्न खोजिएको थियो। तर चालकले प्रहरीको संकेत अटेर गर्दै भाग्न खोजेपछि कारको पछाडिको दाहिनेतर्फको टायरमा एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ।
त्यसपछि गरिएको खानतलासीका क्रममा कारको पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको अवस्थामा ३० हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको थियो। प्रहरीले घटनास्थलबाट सुजुकी कार, यामाहा एफजेड मोटरसाइकल तथा पाँच थान मोबाइल फोनसमेत बरामद गरेको छ।
पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान, भारत बिहार राज्य सितामढी जिल्ला जानकीस्थान वडा नं. १८ का ३२ वर्षीय अहमद लडुन र सोही जिल्लाका वडा नं. ६ का ३३ वर्षीय महमद सहाम रहेका छन्।
लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुबास चन्द्र बोहोराले लागूऔषध तस्करी नियन्त्रणका लागि ब्युरोले सूचना सङ्कलन, निगरानी र अपरेशनलाई थप प्रभावकारी बनाएको बताउँदै यस्ता अवैध गतिविधिमा संलग्नमाथि कडा कारबाही गरिने बताए।
उनले लागूऔषध ओसारपसारका नयाँ शैली र सञ्जालमाथि समेत निगरानी बढाइएको उल्लेख गर्दै सीमा क्षेत्रदेखि राजधानीसम्म हुने अवैध कारोबार नियन्त्रणका लागि विशेष अभियान जारी रहने जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ। बोहोराले ब्युरोको कमाण्ड सम्हालेको एक हप्ता मात्र भएको छ।
