वीरगञ्ज । पर्साको बहुअरी ड्राइपोर्ट र परवानीपुर क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीमाथि ओभरलोड मालवाहक सवारीसाधनलाई कारबाही नगरी रकम असुली गरेर छाड्ने गरेको आरोप लागेको छ। बहुअरी ड्राइपोर्ट वीरगन्ज महानगरपालिका-२५ मा अवस्थित नेपालको तेस्रो ठूलो सहर र मुख्य व्यापारिक नाका वीरगन्जको एक महत्वपूर्ण औद्योगिक तथा सडक सञ्जाल क्षेत्र हो।
स्थानीय व्यवसायी तथा यातायात क्षेत्रसँग सम्बन्धित स्रोतहरूले नेपाल–भारत सीमास्थित आईसीपी (एकीकृत जाँच चौकी) बाट निस्किने मालवाहक सवारीसाधनबाट नियमबाहिर रकम असुली हुने गरेको दाबी गरेका छन्। उनीहरूका अनुसार नियमानुसार जरिवाना गरेर अतिरिक्त भार घटाउनुपर्ने अवस्थामा केही सवारीसाधनलाई अनौपचारिक रूपमा रकम लिएर छाड्ने गरिएको छ।
नेपाल यातायातसम्बन्धी प्रचलित व्यवस्थाअनुसार तोकिएको भारभन्दा बढी सामान बोकेको सवारीसाधनलाई कानुनबमोजिम जरिवाना गर्नुका साथै अतिरिक्त भार हटाएर मात्र सञ्चालनको अनुमति दिनुपर्ने व्यवस्था रहेको छ। तर केही ट्राफिक कर्मचारीले उक्त व्यवस्था कार्यान्वयन नगरी रकम लिएर सवारीसाधन सञ्चालन गर्न दिएको आरोप लगाइएको छ।
स्थानीयका अनुसार बहुअरी र परवानीपुर क्षेत्रबाट दैनिक रूपमा सञ्चालन हुने केही ओभरलोड मालवाहक सवारीका कारण सडकमा समेत क्षति पुगेको छ। मुख्य सडकका विभिन्न खण्डमा चाँडै बिग्रिने समस्या देखिएको उनीहरूको भनाइ छ।
हाल बहुअरी ड्राइपोर्ट ट्राफिक कार्यालयमा महेन्द्र पन्थी र परवानीपुर ट्राफिक कार्यालयमा दिवस श्रेष्ठ इन्चार्जको जिम्मेवारीमा रहेका छन्। उनीहरुले आफ्नो निकटका ट्राफिक प्रहरीहरुलाई पैसा असुलकै लागि सडकमा खटाउने गरेको आरोप छ ।
गुनासो अनुसार यो अवैध असुली मालवाहक ट्रकमा मात्र सीमित छैन। वीरगञ्ज क्षेत्रभित्र चल्ने रिक्सा चालकदेखि भारतीय नम्बर प्लेट भएका साना–ठूला सवारीसाधनका चालकसम्मबाट रकम असुली हुने गरेको बताइएको छ। चालकहरू भन्छन्, ‘नियम पालना गरौँ वा नगरौँ, पैसा नदिएसम्म गाडी अघि बढ्न दिइँदैन।’
अझ गम्भीर कुरा के छ भने, ट्राफिक पोष्टहरूबाट उठाइने अवैध रकमको हिस्सा जिल्ला ट्राफिक प्रमुखमार्फत प्रदेश ट्राफिक प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया (बारा) का प्रमुख प्रहरी उपरीक्षक (एसपी) सम्म पुग्ने गरेको छ। यही कारण माथिल्लो तहबाट समेत कुनै प्रभावकारी अनुगमन वा कारबाही नहुने गरेको आरोप लागिरहेको छ।
यसरी संगठित रूपमा अवैध असुली भइरहेको आरोपले ट्राफिक प्रहरीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। सवारी चालक तथा व्यवसायीहरूले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। यदि समयमै नियन्त्रण नभए ट्राफिक व्यवस्थापनभन्दा असुली नै ट्राफिक प्रहरीको मुख्य काम बन्ने खतरा रहेको सरोकारवालाहरूको भनाइ छ।
केही दिनअघि मात्र पर्सा ट्राफिक प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको सरुवा भएको छ भने उनको ठाउँमा प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठ जाने भएका छन् । तर, वीरगन्ज ट्राफिक कार्यालयमा केही असईहरु शक्तिशाली रहेको बताइन्छ।
यस विषयमा सम्बन्धित ट्राफिक कार्यालयका अधिकारीहरूसँग सम्पर्क गर्ने प्रयास गरिए पनि समाचार तयार पार्दासम्म प्रतिक्रिया प्राप्त हुन सकेन।
