सुर्खेत । सुर्खेतमा मोबाइल चोरी मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१० निवासी २१ वर्षीय सबीर बक्स रहेका छन्। उनी मोबाइल चोरीसम्बन्धी मुद्दामा जेठ २७ गतेदेखि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी कविन्द्रसिंह बोहोराका अनुसार शुक्रबार हिरासतमा रहेका क्रममा सबीरको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि अपराह्न ४ बजे उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो।
उपचारकै क्रममा शनिबार बिहान ५ः३२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। मृतकको शव परीक्षणका लागि बाँकेबाट फरेन्सिक विशेषज्ञ चिकित्सक बोलाउने प्रक्रिया अघि बढाइएको छ। पोस्टमार्टम प्रतिवेदन आएपछि मात्र मृत्युको यथार्थ कारण खुल्ने प्रहरीले जनाएको छ।
प्रहरीले सबीर यसअघि पनि विभिन्न चोरीसम्बन्धी घटनामा संलग्न रहेको तथा लागुऔषध प्रयोगकर्ता रहेको प्रारम्भिक जानकारी दिएको छ।
हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि घटनाप्रति चासो बढेको छ भने प्रहरीले निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गरिने जनाएको छ।
