नवलपरासी । पश्चिम नवलपरासीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणका केही सशस्त्र प्रहरीमाथि स्थानीय व्यापारी तथा बासिन्दाले असुली र तस्करी संरक्षण गरेको आरोप लगाएका छन्।
स्थानीय स्रोतका अनुसार गणमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (सई) माधव घिमिरेले सीमावर्ती क्षेत्रमा रहेका साना व्यापारी तथा खुद्रा पसलबाट नियमित रूपमा रकम असुली गर्ने गरेको आरोप लागेको छ। व्यापारीहरूका अनुसार विभिन्न पसल तथा व्यवसायीहरूको नामावली तयार गरी मासिक रूपमा रकम उठाउने गरिएको दाबी गरिएको छ।
स्थानीयले सई घिमिरे यसअघि हरपुर गुल्ममा कार्यरत रहँदादेखि नै यस्ता गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्। विगतमा ७ महिना हरपुर गुल्ममा रहदा पनि २६ नम्वर गणमा कार्यरत इन्स्पेक्टर केशव भट्टराईको मिलेमतोमा असुली धन्दा चलाएर आतंक नै मच्चाएका थिए । इन्स्पेक्टर केशव भट्टराई भने अहिले सरुवा भएर अन्यत्र गइसकेका छन् भने सई घिमिरेले असुली धन्दालाई निरन्तरता दिएका छन्।
सई माधव घिमिरेले असुलीका लागि सहज होस भनेर नोट बुकमा नाम लिष्ट, मिति, स्थान र रकमसहित उल्लेख गरि असुली गर्छन्। घिमिरे आफै बिहान बेलुकी र कार्यालय समयमै असुली गर्न हिँड्ने गरेको स्थानीय पसलका संचालकहरु बताउँछन्।
त्यस्तै, जिल्लामा लागुऔषध नियन्त्रण तथा सूचना संकलनका लागि परिचालित घुमुवा टोलीका सदस्यहरूमाथि समेत तस्करी नियन्त्रणभन्दा बढी तस्करहरूसँग समन्वय र रकम असुलीमा संलग्न रहेको आरोप लगाइएको छ। विशेष गरी सहायक हवल्दार रञ्जित गैरेमाथि सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबारलाई संरक्षण दिएको आरोप स्थानीयले लगाएका छन्।
स्थानीयका अनुसार भुजहवा, बसहिया, झुलनीपुल, बलिनगर, बनकट्टी, भक्सीपुर, गेर्मी र हकुईलगायतका सीमा नाकाबाट विभिन्न वस्तुको अवैध ओसारपसार हुने गरेको छ। ती नाकाबाट पशुचौपाया, खाद्यान्न, निर्माण सामग्री, कृषि उपज तथा अन्य सामानको दैनिक ठूलो परिमाणमा तस्करी भइरहेको स्थानीयको दाबी छ।
व्यापारीहरूको भनाइ उद्धृत गर्दै स्थानीय स्रोतहरूले मासिक रकम बुझाउनेहरूलाई रातिको समयमा सामान ओसारपसारमा सहजता प्रदान गरिने गरेको आरोप समेत लगाएका छन्। उनीहरूले सीमाक्षेत्रमा हुने अवैध गतिविधिबारे सम्बन्धित निकायमा पटक–पटक जानकारी गराउँदा पनि प्रभावकारी कारबाही नभएको गुनासो गरेका छन्।
घुमुवा गैरे विगतदेखि तस्करीलाई लाइन दिएर असुली गर्ने एक विवादित सहायक हवल्दार हुन् । यिनै गैरेको मिलेमतो र संरक्षणमा जिल्लाका विभिन्न नाका हुँदै तस्करी भइरहेका छन्।
स्थानीयहरूले सीमाक्षेत्रमा हुने तस्करी, अवैध कारोबार तथा सुरक्षाकर्मीमाथि लागेका आरोपबारे निष्पक्ष छानबिन गरी दोषी भेटिए कानुनी कारबाही गर्न माग गरेका छन्।
