काठमाडौं । नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) उद्धब सिंह भाट २०८३ साल जेठ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ (उत्कृष्ट प्रहरी) घोषित भएका छन्।
केन्द्रीय विशेष कार्यदल, कपनमा आयोजित एक कार्यक्रममा कार्यालय प्रमुख चक्रराज जोशीले डिएसपी भाटलाई कदरपत्र तथा पुरस्कार प्रदान गर्दै सम्मान गरेका हुन्।
नेपाल प्रहरीले डिएसपी भाटलाई आफ्नो पदीय जिम्मेवारी उच्च मनोबल, लगनशीलता, अनुशासन तथा व्यावसायिक दक्षताका साथ उत्कृष्ट रूपमा सम्पादन गरेको भन्दै उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको जनाएको छ।
कार्यालयको आन्तरिक प्रशासन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन उच्च समन्वयकारी भूमिका निर्वाह गर्नुका साथै प्रहरी कर्मचारीहरूमा कर्तव्यनिष्ठा, इमान्दारी र उत्कृष्ट कार्यसम्पादनको भावना अभिवृद्धि गर्न उनले महत्वपूर्ण योगदान पुर्याएको मूल्यांकनका आधारमा ‘बेस्ट पुलिस अफ द मन्थ’ प्रदान गरिएको जनाइएको छ।
कार्यक्रममा कार्यदलका प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।
