काठमाडौं । गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ।
वालेन्द्र शाह नेतृत्वको सरकारमा मंगलबार दोस्रो पटक गृहमन्त्री बनेका गुरुङले सुरक्षा समितिको बैठक डाकेका हुन्।
गत वैशाख ९ मा गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री शाहले नै गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। गृह मन्त्रालय पनि प्रधानमन्त्रीले सम्हाल्दा मुलुकको पछिल्लो शान्ति सुरक्षा लगायतका विषयमा सुरक्षा निकायकाका प्रमुखले विभागीय मन्त्रीलाई जानकारी गराउन पाएका थिएनन्।
बैठकमा मुलुकको समग्र शान्ति–सुरक्षा अवस्था, विभिन्न जिल्लाको सुरक्षा संवेदनशीलता, सीमा सुरक्षा, विपद् व्यवस्थापनको तयारी तथा पछिल्ला समसामयिक घटनाक्रमका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।
सरकारले समय–समयमा सुरक्षा अवस्थाको समीक्षा तथा आवश्यक रणनीति तय गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बोलाउने गरेको छ। समितिमा गृह मन्त्रालय र सुरक्षा निकायका प्रमुख अधिकारीहरू सदस्य रहने व्यवस्था छ।
बैठकमा सुरक्षा चुनौतीको मूल्यांकन, सम्भावित जोखिम न्यूनीकरणका उपाय तथा सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको बताइएको छ। बैठकका निर्णयबारे औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन।
