सोलुखुम्बु । सोलुखुम्बुमा युवतीलाई बलात्कार गरेको आरोपमा फरार रहेका एक युवक अढाई महिनापछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नेचासल्यान गाउँपालिका–२ सल्यान चौतारा निवासी २६ वर्षीय दिनेश प्रधान (नेवार) रहेका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार उनलाई जेठ २७ गते सोलुदूधकुण्ड नगरपालिका–५ सल्लेरी बजारबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार चैत १८ गते राति प्रधानले गाउँकै एक युवतीको घरमा प्रवेश गरी बलात्कार गरेका थिए। घटनापछि पीडित युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्।
उजुरीमा आरोपीले मदिरा सेवन गरेर रातिको समयमा घरमा प्रवेश गरी मुख थुनेर डर–त्रास देखाउँदै बलात्कार गरेको उल्लेख छ। घटनापछि उनी फरार भएका थिए।
प्रहरीले विभिन्न स्थानमा खोजतलास गर्दै आएका बेला उनलाई सल्लेरीबाट नियन्त्रणमा लिन सफल भएको जनाएको छ।
पक्राउ परेका प्रधानविरुद्ध बलात्कार मुद्दामा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
