मुगु । १६ वर्षदेखि रहस्यमै रहेको हरिकृष्ण शाही हत्या प्रकरण अन्ततः प्रहरीले उजागर गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेको उक्त ‘कोल्ड केस’लाई पुनः अनुसन्धान गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सफलता हासिल गरेको हो।
वि.सं. २०६७ असार ४ गतेदेखि हराएका हरिकृष्ण शाहीको शव ४ दिनपछि तत्कालीन श्रीनगर गाविस–५ अन्तर्गत धैनकोट जाने सडकछेउमा फेला परेको थियो। घटनापछि मृतककी आमा पुनी शाहीले कर्तव्य ज्यानसम्बन्धी जाहेरी दिएकी थिइन्। तर वर्षौंसम्म अनुसन्धानले ठोस निष्कर्ष निकाल्न सकेको थिएन।
जिल्ला प्रहरी कार्यालय मुगुले पछिल्लो समय मुद्दालाई पुनः प्राथमिकतामा राखी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा तत्कालीन अस्थायी प्रहरी पोस्ट कालिकाका हवल्दार कालीबहादुर खड्का र गमगढी बजारमा होटल सञ्चालन गर्दै आएकी सरिता बुढाको संलग्नतासम्बन्धी सूचना प्राप्त भएपछि घटनाले नयाँ मोड लिएको थियो।
प्रहरीका अनुसार २०६७ असार ४ गते राति गमगढीस्थित होटलमा हरिकृष्ण शाहीलाई बोलाई योजनाबद्ध रूपमा हत्या गरिएको थियो। घटनामा पारसमणी मल्ल, जसु बोहोरा, शैलेन्द्र हितान, चन्द्रप्रकाश शाही, दुई बालक तथा महेन्द्र भन्ने रणबहादुर ऐडीको संलग्नता रहेको खुलेको छ।
जिल्ला अदालत मुगुले जेठ २७ गतेको आदेशबाट पारसमणी मल्ल, कालीबहादुर खड्का, चन्द्रप्रकाश शाही, जसु बोहोरा तथा दुई बालकलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। सरिता बुढालाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको छ। मुख्य अभियुक्त शैलेन्द्र हितान र रणबहादुर ऐडी भने फरार छन्।
प्रहरी निरीक्षक नविनकुमार शाहीको नेतृत्वमा पुराना मिसिल अध्ययन, प्रमाण विश्लेषण तथा वैज्ञानिक अनुसन्धान विधिको प्रयोगमार्फत वर्षौंदेखिको हत्या रहस्य खुलाउन सफलता प्राप्त भएको प्रहरीले जनाएको छ।
प्रहरी वृत्तमा यो अनुसन्धानलाई पछिल्लो समयको उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ। वर्षौंदेखि न्यायको प्रतीक्षामा रहेको एउटा जघन्य हत्या प्रकरणमा नयाँ जीवन भर्दै अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउन सफल भएको यो अनुसन्धानले मुगु प्रहरीको अनुसन्धान क्षमतामाथि विश्वास बढाएको छ।
मुगु प्रहरी प्रमुख डिएसपी रविराज थपलियाका अनुसार लामो समयदेखि अनुसन्धान र न्यायिक प्रक्रियामा रहेको हरिकृष्ण शाही हत्या प्रकरण हाल महत्वपूर्ण चरणमा पुगेको र फरार अभियुक्तहरूको पक्राउ तथा अदालतको आदेश कार्यान्वयनमा प्रहरी सक्रिय रूपमा जुटिरहेको छ ।
