काठमाडौं । उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले ट्राफिक नियम उल्लंघन गर्ने कसैलाई पनि सहुलियत नदिन मातहतका ट्राफिक प्रहरीलाई कडा निर्देशन दिएका छन्।
उनले ट्राफिक नियम उल्लंघन गर्ने जो-कोही भए पनि कानुनी कारबाही निर्दयताका साथ गर्नुपर्ने बताउँदै कसैलाई पनि छुट नदिन स्पष्ट निर्देशन दिएका हुन्।
सडकमा खटिने ट्राफिक प्रहरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निगरानीमा रहने भएकाले उनीहरूको बोली, व्यवहार, अनुशासन र निष्पक्ष कार्यसम्पादनले समग्र संगठनको छवि निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने एसएसपी काफ्लेले उल्लेख गरे।
उनले ट्राफिक प्रहरी संगठनको ‘ऐना’ भएकाले आफूलाई सोही अनुसार प्रस्तुत गर्नुपर्ने बताउँदै आर्थिक पक्षमा ‘Zero Tolerance’ नीति कडाइका साथ लागू गर्न निर्देशन दिए।
धुलो, धुवाँ, घाम-पानीको प्रवाह नगरी निरन्तर ड्युटीमा खटिने ट्राफिक प्रहरीको सानो गल्ती वा लोभले समेत संगठनलाई बदनाम गर्न सक्ने भएकाले त्यसतर्फ सचेत रहन उनको आग्रह थियो।
उनले राम्रो कार्य गर्ने कर्मचारीलाई नागरिकको समर्थन सधैं रहने उल्लेख गर्दै गलत क्रियाकलापमा संलग्नलाई कुनै पनि समर्थन नहुने स्पष्ट पारे।
सबै तह र ओहदाका नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले व्यवहारमा शिष्टता, नम्रता र कानून कार्यान्वयनमा दृढता अपनाउन पनि मातहत कर्मचारीहरूलाई निर्देशन दिइएको छ।
