काठमाडौं । काठमाडौंमा टोले गुण्डागर्दीसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बस्दै आएका ३७ वर्षीय श्यामबहादुर तामाङ उर्फ ‘श्याम लामा’ रहेका छन्।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बिहीबार दिउँसो करिब १२ बजे उनलाई कागेश्वरी मनोहरा नगरपालिका–५ क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा तामाङ यसअघि पनि विभिन्न आपराधिक मुद्दामा पक्राउ परिसकेको खुलेको छ। उनी २०७० सालमा अपहरण तथा शरीर बन्धक मुद्दामा पक्राउ परेका थिए भने २०७५ सालमा अभद्र व्यवहार मुद्दामा समेत कारबाहीमा परेका थिए।
यस्तै, २०७९ र २०८० सालमा पनि अभद्र व्यवहारसम्बन्धी घटनामा उनी पक्राउ परेको प्रहरीको विवरणमा उल्लेख छ।
हाल तामाङमाथि टोले गुण्डागर्दीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
