कालीकोट । कालीकोटमा अज्ञात समूहद्वारा एक युवाको हत्या गरिएको आशंका गरिएको छ। सान्नीत्रिवेणी गाउँपालिका–९ मुम्राको सुपेचौरमा सान्नीत्रिवेणी गाउँपालिका–४ निवासी अन्दाजी ३१ वर्षीय सुरेन्द्रबहादुर शाही मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार गएराति अज्ञात समूहले शाहीको हत्या गरेको आशंका गरिएको छ। उनको शव गाउँ नजिकैको खरबारीमा फेला परेको हो।
घटनास्थलमा शाहीमाथि प्रहार गर्न प्रयोग गरिएको हुन सक्ने ढुङ्गा समेत भेटिएकाले हत्या भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। यद्यपि, घटनाको वास्तविक कारण र हत्यामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न सकेको छैन।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको र घटनाको सूक्ष्म अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले हत्यामा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।
