काठमाडौं । बाँके जिल्लाकाे बैजनाथ गाउँपालिका–६ एच गाउँ स्थित ईश्वरी माध्यमिक विद्यालय को सरकारी जग्गा अतिक्रमण हटाउने क्रममा प्रहरीमाथि धारिलो हतियार (दाउ) प्रहार भएको छ ।
उक्त सरकारी जग्गामा घरटहरा निर्माण गरी बस्दै आएकी अं. ३६ वर्षीया शाबित्री कुमारी शाहीले प्रहरी चौकी सम्झना बाँकेमा कार्यरत प्रहरी हवल्दार सुनिल कुमार चौधरीलाई धारिलो हतियार प्रहार गरेकी हुन ।
गाउँपालिकाले पटक–पटक सूचना जारी गरी जग्गा खाली गर्न आग्रह गरे पनि अटेर गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेको मिति २०८३ जेठ २७ गतेको पत्रका आधारमा अतिक्रमित संरचना हटाउने कार्य अघि बढाइएको थियो ।
प्रहारबाट प्रहरी हवल्दार चौधरीको दाहिने काँध पछाडिको भागमा सामान्य निलडाम देखिएको छ भने अवस्था सामान्य रहेको छ ।
घटनापछि निज शाबित्री कुमारी शाहीलाई दाउसहित नियन्त्रणमा लिइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
