रौतहट । रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर चोकमा चार दिनअघि भएको घातक सवारी दुर्घटनाको रहस्य अन्ततः खुलेको छ। दुर्घटनापछि सवारीसाधनसहित फरार भएका टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेसँगै घटनाको वास्तविकता सार्वजनिक भएको हो।
जेठ २४ गते राति करिब १ बजे गरुडा–समनपुर सडकखण्ड अन्तर्गत सुन्दरपुर चोकमा साइकलमा घर फर्किरहेका गढीमाई नगरपालिका–९ मलाही निवासी ३५ वर्षीय प्रमोद सहनीलाई एउटा टिप्परले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सहनीको घटनास्थलमै मृत्यु भएको थियो भने चालक सवारीसहित फरार भएका थिए।
घटनापछि स्थानीयवासी तथा मृतकका आफन्त आक्रोशित बनेका थिए। दोषी चालक र दुर्घटनामा संलग्न सवारीसाधनलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै उनीहरूले गरुडा बजार क्षेत्रमा सडक अवरुद्धसमेत गरेका थिए। प्रहरीको आश्वासनपछि आन्दोलन स्थगित गरिएको थियो।
घटनालाई गम्भीर रूपमा लिँदै इलाका प्रहरी कार्यालय गरुडाले व्यापक अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले १९ वटा टिप्पर र १७ भन्दा बढी चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
अनुसन्धानकै क्रममा बृन्दावन नगरपालिका–२ निवासी २४ वर्षीय अब्दुल एजाजलाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्यका अनुसार प्रारम्भिक बयानका क्रममा एजाजले दुर्घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्।
प्रहरीका अनुसार एजाजले शिवम् क्रसर उद्योगबाट ढुङ्गा बोकेर गरुडातर्फ जाँदै गर्दा साइकलमा सवार प्रमोद सहनीलाई ठक्कर दिएका थिए। दुर्घटनापछि उनी घटनास्थलबाट फरार भएका थिए।
प्रहरीले दुर्घटनामा प्रयोग भएको प्रदेश–२–०३–००१ ख २६३३ नम्बरको टिप्परसमेत नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका एजाजविरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ।
चार दिनसम्म अन्योल र आशंकाबीच रहेको घटनाले चालक पक्राउ परेसँगै स्पष्टता पाएको छ। मृतकका परिवारले दोषीमाथि कानुनबमोजिम कडा कारबाहीको माग गरेका छन्। प्रहरीले घटनाका अन्य पक्षबारे समेत अनुसन्धान जारी रहेको जनाएको छ।
