काठमाडौं । प्रहरीले काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गाबाट ठूलो परिमाणमा भन्सार छली ल्याइएको महँगो मोबाइल फोन बरामद गरेको छ। मंगलबार नागढुङ्गामा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा १४ थान आइफोन बरामद गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु।२ ख। ६५६६ नम्बरको यात्रुवाहक बसलाई नागढुङ्गा चेकपोष्टमा रोकी खानतलासी गरिएको थियो।
सोही क्रममा बसका चालक बस्ने सिटको साइडमा एउटा झोलाभित्र लुकाएर राखेको अवस्थामा ती आइफोनहरू फेला परेका हुन्। बरामद गरिएका आइफोनहरूको कुनै पनि बिलबिजक वा आधिकारिक कागजात नभेटिएपछि प्रहरीले त्यसलाई भन्सार छलीको अवैध सामानका रूपमा नियन्त्रणमा लिएको हो।
प्रहरीले बरामद गरेका सबै १४ थान आइफोनलाई आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइसकेको एसपी भट्टराईले जानकारी दिए। यसबारे बसका चालक र सम्बद्ध व्यक्तिहरूसँग थप सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
