रौतहट । रौतहट प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट ९० लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध फर्सीको बिउ बरामद गरेको छ। बरामद प्रक्रियाका क्रममा स्थानीयको अवरोधपछि स्थिति तनावग्रस्त बन्दा प्रहरीले अश्रुग्यास र चेतावनीस्वरूप गोली प्रहार गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ बौधीमाई नगरपालिका–७ बाडस्थित बंकुल टोलमा छापा मारेको थियो। सीमावर्ती क्षेत्र नजिक त्रिपालले छोपेर राखिएको अवस्थामा भारततर्फ तस्करी गर्न तयारी गरिएको ठूलो परिमाणको फर्सीको बिउ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले ३२२ बोरा फर्सीको बिउ बरामद गरेको छ। बरामद बिउको तौल १२ हजार ८८० किलोग्राम रहेको र यसको अनुमानित मूल्य ९० लाख १६ हजार रुपैयाँ बराबर रहेको बताइएको छ। उक्त सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ।
प्रहरी टोलीले बिउ नियन्त्रणमा लिने क्रममा केही स्थानीय व्यक्तिले ढुंगामुढा गर्दै अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै चेतावनीस्वरूप गोली चलाएको जनाएको छ।
झडपका क्रममा तीन जना स्थानीय बासिन्दा र तीन जना प्रहरी कर्मचारी गरी ६ जना सामान्य घाइते भएका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पनि भारतको घोडासहन क्षेत्रमा सीमा सुरक्षा बल (एसएसबी) ले नेपालबाट तस्करी हुँदै लगिएको करिब ७० लाख रुपैयाँ बराबरको फर्सीको बिउ बरामद गरेको थियो।
सुरक्षा निकायका अनुसार रौतहट र बाराका विभिन्न नाकामार्फत चीनबाट आयात गरिएको फर्सीको बिउ भारतका विभिन्न राज्यमा अवैध रूपमा तस्करी हुने गरेको छ।
