काठमाडौं । नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने दौडमा रहे पनि आईजीपी बन्ने अवसर गुमाएका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मानबहादुर रावल सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री बनेका छन्।
अछाम–२ बाट नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित रावलले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका हुन्।
२०३१ सालमा सहायक प्रहरी निरीक्षक (असई) का रूपमा प्रहरी सेवामा प्रवेश गरेका रावल पछि खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक बनेका थिए। कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट मानिने रावललाई प्रहरी संगठनभित्र भावी नेतृत्वका रूपमा हेरिन्थ्यो।
तर शाही शासनकालमा उनको बढुवाको यात्रा अवरुद्ध भयो।
आफूभन्दा पछिल्ला बरियताका अधिकृतहरू डीआईजीमा बढुवा हुँदा रावल भने एसएसपी पदमै रोकिए। पछि ती अधिकृतहरूमध्ये केही नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) समेत बने, तर रावलको आईजीपी बन्ने सपना अधुरै रह्यो।
२०६२ सालमा एसएसपी पदबाट अवकाश लिएपछि रावल राजनीतिमा सक्रिय भए। प्रहरी सेवामा उच्च पदको अवसरबाट वञ्चित भएका रावल अहिले भने सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारीमा पुगेका छन्।
