काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले नेतृत्व भनेको आदेश दिने मात्र नभई मातहत कर्मचारीका समस्या सुन्ने र समाधान खोज्ने दायित्व पनि भएको बताएका छन्। संगठनको नेतृत्व सम्हालेयता उनी बारम्बार यही विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका छन्।
सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षकका रूपमा नेतृत्व सम्हालेका पौडेल २०८३ वैशाखमा नियुक्त भएका हुन्। संगठनभित्र उनी शान्त स्वभावका, तर निर्णयमा स्पष्ट र अनुशासनमा कडा अधिकृतका रूपमा चिनिन्छन्। एआईजी हुँदा प्रशासन, मानव स्रोत व्यवस्थापन र संगठन सञ्चालनका विषयमा काम गरेका पौडेलले नेतृत्व सम्हाल्नासाथ संगठनभित्रको कार्यसंस्कृति सुधारलाई प्राथमिकतामा राखेका छन्।
स्कुपखबरसँगको कुराकानीमा आईजीपी पौडेलले भने, ‘कुनै पनि संगठन आदेशले मात्र चल्दैन। तल्लो तहका कर्मचारीको समस्या बुझ्न सकिएन भने नेतृत्व सफल हुन सक्दैन। कमान्डरले आफ्नो मातहतका कर्मचारीको पिर, मर्का र आवश्यकता बुझ्नुपर्छ। उनीहरूको मनोबल उच्च भए मात्रै नतिजा पनि राम्रो आउँछ।’
सुरक्षा संगठनभित्र तल्लो दर्जाका कर्मचारीका समस्या लामो समयदेखि चर्चा हुने विषय हुन्। दुर्गम क्षेत्रमा खटाइ, सीमित सुविधा, पारिवारिक दबाब, सरुवा र बढुवासम्बन्धी गुनासा समय-समयमा उठ्ने गरेका छन्। यिनै विषयलाई सम्बोधन गर्ने संकेत पौडेलले पछिल्ला अभिव्यक्तिहरूमार्फत दिएका छन्।
उनका अनुसार सशस्त्र प्रहरी बलमा राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र गल्ती गर्नेलाई कारबाही गर्ने प्रणालीलाई अझ प्रभावकारी बनाइनेछ। उनले पुरस्कार र दण्डको नीतिलाई प्रभावकारी रूपमा लागू गरिने स्पष्ट सन्देश दिएका छन्। साथै मातहत कर्मचारीको मनोबल उच्च राख्न कमान्डरहरूले तल्लो तहसम्म पुगेर संवाद गर्नुपर्नेमा जोड दिएका छन्।
‘पुरस्कार र दण्ड दुवै संगठन सञ्चालनका आधार हुन्,’ पौडेलले भने, ‘जसले राम्रो काम गर्छ, उसले सम्मान पाउनुपर्छ। जसले संगठनको प्रतिष्ठामाथि आँच आउने काम गर्छ, उसले कारबाही पनि भोग्नुपर्छ। त्यसमा कुनै सम्झौता हुँदैन।’
पछिल्लो समय सशस्त्र प्रहरी बलले केही युनिटका कमान्डरमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। सल्यान र जाजरकोटका केही घटनामा जिम्मेवार अधिकारीमाथि कारबाही गरिएको सन्दर्भ उल्लेख गर्दै आईजीपी पौडेलले संगठनमा अनुशासन र जवाफदेहितामा कुनै छुट नहुने संकेत दिएका छन्। बीओपी नेचुङका कमान्डरमाथि छानबिन भइरहेको र एपीएफ स्कूल कीर्तिपुरसम्बन्धी विषयमा समेत समिति गठन गरेर अनुसन्धान अघि बढाइएको उनले सार्वजनिक रूपमा बताइसकेका छन्।
सशस्त्र प्रहरी बलको नेतृत्व सम्हालेपछि पौडेलले सीमा सुरक्षालाई पनि विशेष प्राथमिकतामा राखेका छन्। खुला सीमाको दुरुपयोग गरेर हुने चोरी-तस्करी, राजस्व चुहावट र अवैध कारोबार नियन्त्रणमा संगठनलाई थप सक्रिय बनाउन उनले निर्देशन दिँदै आएका छन्।
स्कुपखबरसँग उनले भने, ‘सीमामा खटिने सशस्त्र प्रहरी कर्मचारी राष्ट्रको पहिलो सुरक्षा घेरा हुन्। उनीहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ। तस्करी र अवैध गतिविधिमा कुनै प्रकारको सम्झौता हुँदैन।’
पौडेलले आर्थिक पारदर्शिता, लैंगिक हिंसा, मानवअधिकार उल्लंघन तथा संगठनको छवामा असर पार्ने गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाइएको पनि बताएका छन्। सामाजिक सञ्जालको प्रयोगलाई समेत मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा उनको जोड छ।
सुरक्षा विश्लेषकहरूका अनुसार सशस्त्र प्रहरी बल अहिले सीमा सुरक्षा, विपद् व्यवस्थापन, महत्वपूर्ण संरचनाको सुरक्षा तथा संगठित अपराध नियन्त्रणजस्ता बहुआयामिक जिम्मेवारीमा सक्रिय छ। यस्तो अवस्थामा नेतृत्वको सफलता केवल अपरेसनको नतिजाले मात्र नभई संगठनभित्रको मनोबलले पनि निर्धारण गर्ने गर्छ।
त्यही कारण आईजीपी पौडेलले पछिल्लो समय ‘कमान्ड’ भन्दा बढी ‘सञ्चार र समन्वय’ मा जोड दिन थालेका छन्। संगठनभित्र तल्लो तहका कर्मचारीका समस्या सुन्ने, राम्रो काम गर्नेको सम्मान गर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने उनको नीति व्यवहारमै कार्यान्वयन हुन सके सशस्त्र प्रहरी बलको कार्यसम्पादन र मनोबल दुवैमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
संगठनभित्र अनुशासन, पारदर्शिता र जवाफदेहितालाई बलियो बनाउने अभियानमा रहेका पौडेलको सन्देश स्पष्ट छ- ‘नेतृत्व भनेको केवल आदेश दिने पद होइन, मातहतको पीडा बुझ्ने जिम्मेवारी पनि हो।’
