काठमाडौं । काठमाडौंको गौशाला क्षेत्रमा कार र ट्याक्सीमार्फत युवती सप्लाइ गरेर अवैध रूपमा यौनधन्दा चलाउने एक संगठित गिरोह प्रहरीकाे फन्दामा परेको छ।
प्रहरी वृत्त गौशालाको टोलीले चलाएको अपरेसनका क्रममा यौन व्यवसाय सञ्चालन गर्ने ४ पुरुष र त्यसमा संलग्न १२ युवतीसहित कुल १६ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुरको बकैया गाउँपालिका-८ का २८ वर्षीय विवेक स्याङ्तान, काठमाडौं-९ शम्भुमार्गका राजकुमार गौतम र मकवानपुरकै मनहरी गाउँपालिका-२ का ३३ वर्षीय विकास भुलन रहेका छन्।
पक्राउ परेका व्यक्तिहरूमध्ये विकास भुलन होटल सञ्चालक हुन् भने विवेक स्याङ्तान ट्याक्सी चालक र राजकुमार गौतम कारका धनी हुन्। अर्का अभियुक्त सुनिल तामाङले भने ग्राहक खोज्ने र डिल गर्ने मुख्य एजेन्टको रूपमा काम गर्दै आएका थिए।
प्रहरीले उनीहरूको साथबाट युवती ओसारपसार गर्न प्रयोग गरिने बीएसी ०८९० नम्बरको मारुती सुजुकी कार र बा २ ज २३२७ नम्बरको ट्याक्सी समेत बरामद गरेको छ।
प्रहरी अनुसन्धानका अनुसार यो समूहले ग्राहक फेला पार्न र व्यवसाय फैलाउन फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र टिकटकजस्ता सामाजिक सञ्जालको व्यापक प्रयोग गर्ने गरेको थियो।
उनीहरूले सामाजिक सञ्जालमार्फत नै ग्राहकलाई युवतीका तस्बिर तथा भिडियोहरू देखाएर रकमको बार्गेनिङ गर्थे।
प्रतिग्राहक १० हजार रुपैयाँसम्मको मोलमोलाई मिलेपछि बरामद कार तथा ट्याक्सीको प्रयोग गरी विशेषगरी गौशाला क्षेत्रका विभिन्न होटलहरूमा युवतीहरू पुऱ्याउने गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरूको मोबाइल फोन संकलन गरी परीक्षण गर्दा यौनधन्दाका विषयमा भएका कुराकानी र रकम लेनदेनका डिजिटल प्रमाणहरू समेत फेला परेका छन् ।
तस्बिर : AI बाट ।
