विराटनगर । मोरङ प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालको नेतृत्वमा प्रहरीले सीमावर्ती क्षेत्र तथा लागूऔषध कारोबारको जोखिम रहेका स्थानहरूमा निगरानी बढाएको जनाएको छ।
यसैक्रममा विराटनगर महानगरपालिका–१६ दरैयाबाट ५ ग्राम २१ मिलिग्राम खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सुजन लिम्बु रहेका छन्। उनीमाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार पछिल्लो समय लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि विशेष अभियान सञ्चालन भइरहेको छ। सीमा नाकाहरूमा चेकजाँच कडा बनाइनुका साथै सूचनाको आधारमा विभिन्न स्थानमा निगरानी बढाइएको छ।
एसपी कटवालले लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताउँदै यस किसिमका अपराधमा संलग्न व्यक्तिविरुद्ध कानुनी कारबाहीलाई निरन्तरता दिइने बताएका छन्। उनका अनुसार लागूऔषध कारोबारले समाज र विशेषगरी युवापुस्तामा नकारात्मक असर पार्ने भएकाले नियन्त्रणका लागि प्रहरी सक्रिय रूपमा लागिपरेको छ।
मोरङ प्रहरीले लागूऔषध नियन्त्रणसँगै अन्य आपराधिक गतिविधिविरुद्ध पनि अभियान सञ्चालन गरिरहेको जनाएको छ। प्रहरीका अनुसार लागूऔषध कारोबारमा संलग्न सञ्जालको पहिचान तथा अनुसन्धानलाई समेत प्राथमिकताका साथ अघि बढाइएको छ।
