काठमाडौं । दार्चुलामा रातिको समयमा गस्तीबाट फर्किने क्रममा कुलोमा चिप्लिएर लड्दा एक प्रहरी जवानको मृत्यु भएको छ।
जिल्लाको नौगाड गाउँपालिका–५ स्थित होपरीगाड अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान खेमराज भट्ट मंगलबार राति करिब १० बजे गस्ती सकेर चौकीतर्फ फर्किने क्रममा पानीघट्टको कुलोमा चिप्लिएर लडेका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका भट्टलाई तत्काल उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो। उपचारकै क्रममा बुधबार राति २ः१० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमराज भट्टले जानकारी दिए।
प्रहरीका अनुसार अन्दाजी २५ वर्षीय भट्ट बैतडी जिल्लाका स्थायी बासिन्दा हुन्। कर्तव्य निर्वाहका क्रममा भएको उक्त दुःखद घटनाले प्रहरी संगठन तथा स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
