काठमाडौं । सर्लाहीको कविलासी नगरपालिका–१० सलेमपुरमा भएको सवारी दुर्घटनापछि उत्पन्न विवादले राजनीतिक र सुरक्षा दुवै क्षेत्रमा तरंग पैदा गरेको छ। सामान्य दुर्घटनाबाट सुरु भएको घटनाले प्रहरीमाथि आक्रमण र सरकारी कामकारबाहीमा अवरोध पुर्याउने अवस्थासम्म पुगेपछि मधेस प्रदेशका पूर्वप्रदेश सांसद अशोककुमार यादव अनुसन्धानको घेरामा परेका छन्।
सर्लाही प्रहरीले पूर्वप्रदेश सांसद यादवविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। घटनापछि उनी फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र पौडेलका अनुसार यादवमाथि प्रहरीमाथि आक्रमण गर्न उक्साएको तथा सरकारी काममा अवरोध पुर्याएको आरोपमा अनुसन्धान भइरहेको छ। ‘उहाँमाथि अनुसन्धान भइरहेको छ। घटनाको सम्पूर्ण पक्षलाई लिएर कानुनी प्रक्रिया अघि बढाइएको छ,’ एसपी पौडेलले भने।
प्रहरीका अनुसार जेठ २५ गते राति करिब ९ बजे यादवको स्वामित्वमा रहेको ज.१ त.२५५० नम्बरको ट्याक्टरले कविलासी नगरपालिका–८ अगर्वामा सडक छेउमा रोकेर राखिएको ना.६ ख. ७६२३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। दुर्घटनापछि ट्याक्टर चालक घटनास्थलबाट भाग्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएर दुवै पक्षलाई छलफलमार्फत विवाद समाधान गर्न आग्रह गरेको थियो।
तर, त्यसक्रममा ट्याक्टर चालकले पूर्वप्रदेश सांसद यादवलाई फोन गरेर घटनास्थलमा बोलाएका थिए। प्रहरीका अनुसार यादव घटनास्थलमा केही समर्थकसहित पुगेपछि स्थिति अचानक तनावग्रस्त बनेको थियो।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार यादवसँगै आएका व्यक्तिहरूले प्रहरीलाई घेरा हालेर विवाद चर्काएका थिए। त्यसक्रममा प्रहरीमाथि हातपातसमेत भएको र नियन्त्रणमा रहेको ट्याक्टर समेत बलपूर्वक लैजाने प्रयास गरिएको थियो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा यादवका भतिजा कविलासी–१० सलेमपुरका १९ वर्षीय विक्रमकुमार यादव र भारतीय नागरिक तथा यादवका भाञ्जा २१ वर्षीय प्रियाङ्शु यादव रहेका छन्। दुवैविरुद्ध अभद्र व्यवहार कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अशोककुमार यादव २०७४ सालको प्रदेशसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमको तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। पछिल्लो समय उनी नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध रहेको बताइन्छ।
