काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा प्रधानमन्त्री निवास बालुवाटारका लागि टिभी, फ्रिज, गिजर, वासिङ मेसिन, कम्प्युटर, ल्यापटपलगायत विभिन्न सामग्री खरिद गर्न १ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत सार्वजनिक बजेट विवरणअनुसार प्रधानमन्त्री निवासमा आवश्यक मेसिनरी तथा विद्युतीय उपकरण खरिदका लागि उक्त रकम छुट्याइएको हो। माग र आवश्यकता अनुसार टिभी, फ्रिज, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, सिसिटिभी क्यामेरा, गिजर तथा अन्य सामग्री खरिद गरिने जनाइएको छ।
यस्तै, बालुवाटारको मुख्य प्रवेशद्वारमा सवारी स्क्यानर तथा अन्य सुरक्षा उपकरण जडान गर्न १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। प्रधानमन्त्री निवासको मर्मत तथा सुधारका विभिन्न कामका लागि थप ५० लाख रुपैयाँ छुट्याइएको छ।
बजेट विवरणअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा मन्त्री निवासमा विद्युतीय प्रणालीको मर्मतसम्भारका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ। राष्ट्रपति र उपराष्ट्रपतिको सरकारी निवासका लागि आवश्यक उपकरण खरिद गर्न ८० लाख रुपैयाँ छुट्याइएको छ।
प्रधानमन्त्री निवासमा फर्निचर तथा फर्निसिङ व्यवस्थापनका लागि ७८ लाख २० हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ।
त्यस्तै, सिंहदरबारस्थित संसद् भवन परिसरमा ‘जेन–जी शहीद’हरूको सालिक तथा स्मारक स्तम्भ निर्माणका लागि २ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
पुल्चोकमा मन्त्री निवास निर्माणका लागि ५० लाख र सुरक्षा निकायको भवन निर्माणका लागि थप ५० लाख रुपैयाँ छुट्याइएको छ। भैंसीपाटीस्थित मन्त्री निवास परिसरका भवनहरूको मर्मत तथा स्तरोन्नतिका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ।
भैंसीपाटीमा सिसिटिभी जडान तथा मर्मतका लागि ५० लाख र स्वास्थ्य क्लब सञ्चालनका लागि आवश्यक उपकरण खरिद गर्न ४० लाख रुपैयाँ छुट्याइएको छ। भाडामा बस्ने मन्त्रीका लागि फर्निचर खरिद गर्न १७ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।
सरकारले चालु आर्थिक वर्षका लागि पूर्वाधार विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत यस्ता विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको हो। मन्त्रालयलाई कुल ९४ करोड ७७ लाख रुपैयाँ बजेट प्राप्त भएको छ भने वित्तीय हस्तान्तरण र सशर्त अनुदानसमेत जोड्दा मन्त्रालयको कुल बजेट १ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ।
