काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आएका भक्तजनको सुनको सिक्री लुटपाट गरेको आरोपमा पाँच भारतीय महिला पक्राउ परेका छन्। प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले चोरी गरिएको दुई थान सुनको सिक्रीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराई का अनुसार बुधबार बिहान करिब ११ः३० बजे पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आएका भक्तजनलाई लक्षित गरी सुनका सिक्री लुटपाट गरिएको थियो।
घटनापछि प्रहरीले तत्काल खोजी अभियान सञ्चालन गर्दै भारतको गोरखपुर नौसर घर भएका पाँच महिलालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा ३५ वर्षीया अन्जु चमार, २९ वर्षीया रुपसना चमार, ३० वर्षीया आरती चमार, ३५ वर्षीया रिङ्कु चमार र १८ वर्षीया नन्दनी चमार रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट लुटपाट गरिएका दुई थान सुनका सिक्री समेत बरामद गरिएको छ। उनीहरूविरुद्ध चोरी तथा लुटपाटसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
