धनगढी । कैलालीको धनगढीमा मृत अवस्थामा फेला परेका एक युवकको हत्या भएको खुलेको छ।
धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा बेवारिसे अवस्थामा फेला परेका कैलारी गाउँपालिका–९ गदरियाका २० वर्षीय राजकुमार रानाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार हत्यामा संलग्न रहेको आरोपमा धनगढी उपमहानगरपालिका–८ का बम्मन राना र भँगु रानालाई पक्राउ समेत गरिएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुले राजकुमार रानामाथि कुटपिट गरी हत्या गरेको र शव मोहना नदी किनारमा फालेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
घटनामा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुई जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
