काठमाडौं । गृहमन्त्रीको शपथ लिएर पदभार सम्हालेकै दिन सुधन गुरुङविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लिखित उजुरी परेको छ। रुकुम पूर्वका एक युवाले गुरुङको सम्पत्ति विवरणमा असंगति रहेको दाबी गर्दै छानबिनको माग गरेका हुन्।
रुकुम पूर्वको सिस्ने गाउँपालिका–८ निवासी केशव रावलले बुधबार विभागमा दर्ता गराएको उजुरीमा गुरुङले केही सम्पत्ति विवरण सार्वजनिक नगरेको तथा लगानीको स्रोतबारे प्रश्न उठाएका छन्।
उजुरीमा गुरुङको नाममा रहेको भनिएको स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा करिब ५० लाख रुपैयाँ बराबरको संस्थापक सेयर सम्पत्ति विवरणमा नदेखाइएको दाबी गरिएको छ। ती कम्पनीहरू सम्पत्ति शुद्धीकरण मुद्दामा तानिएका व्यवसायी दीपक भट्टसँग सम्बन्धित रहेको उल्लेख गर्दै लगानीको स्रोत र सम्भावित व्यावसायिक सम्बन्धबारे अनुसन्धान गर्न माग गरिएको छ।
त्यस्तै, गुरुङका नाममा रहेको भनिएको ८९ तोला सुन, विभिन्न बैंक खातामा रहेको ६२ लाख रुपैयाँभन्दा बढी नगद, ‘एडभेन्चर भिल्ला’ र ‘लगुम प्रिमियम’ लगायतका कम्पनीमा गरिएको लगानी तथा ४८ लाख रुपैयाँ मूल्यको सवारीसाधन खरिदको स्रोतबारे पनि छानबिन गर्नुपर्ने माग उजुरीमा गरिएको छ।
रावलले सामाजिक सञ्जालमार्फत ती लगानी ऋण लिएर गरिएको दाबी गरिए पनि सम्पत्ति विवरणमा ऋणको उल्लेख नभएको जिकिर गरेका छन्। सम्भावित रूपमा प्रस्तुत गरिन सक्ने ‘कपाली तमसुक’मार्फत अवैध सम्पत्तिलाई वैध देखाउने प्रयास हुन सक्ने आशंका पनि उजुरीमा गरिएको छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ र ४ उल्लेख गर्दै रावलले गुरुङको सम्पत्तिको स्रोत, लुकाइएको भनिएको सम्पत्ति विवरण तथा आर्थिक कारोबारबारे विस्तृत अनुसन्धान गरी आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन्।
यता, गुरुङले भने आजै गृहमन्त्रीको शपथ लिएर मन्त्रालयको पदभार ग्रहण गरेका छन्। गृहमन्त्रीको जिम्मेवारी सम्हालेको पहिलो दिनमै उनीविरुद्ध सम्पत्ति छानबिनको मागसहित उजुरी परेपछि राजनीतिक वृत्तमा यसको चर्चा सुरु भएको छ।
निवेदनको पूर्णपाठ

