काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा रहेका सचिव कृष्णहरी पुष्करको सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ। विभागले उनको सम्पत्तिको स्रोत, आयआर्जन र विगतमा गरेका निर्णयबीचको सम्बन्धबारे अनुसन्धान अघि बढाएको स्रोतले जनाएको छ।
महोत्तरीको जलेश्वर–४ सुगा घर भएका पुष्कर केही समयअघि प्रधानमन्त्री बालेन्द्र शाहको हटलाइन नम्बरमा सन्देश पठाएको विषयमा विवादमा तानिएका थिए। उनले राजदूत पदका लागि आवेदन दिएको जानकारी गराउँदै सहयोगको अपेक्षा राखेर प्रधानमन्त्रीलाई सन्देश पठाएको बताइएको छ। त्यसपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो भने उपराष्ट्रपतिको कार्यालयबाट हटाएर जगेडामा राखिएको थियो।
प्रधानमन्त्रीको सचिवालयले पुष्करले प्रशासनिक ‘चेन अफ कमाण्ड’ उल्लंघन गर्दै व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्रीसँग प्रत्यक्ष सम्पर्क गरेको आरोप लगाएको छ। मुख्यसचिव बन्ने दौडमा रहेका पुष्करले सरकारले सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गरेपछि उक्त अवसर गुमाएका थिए। उनी आगामी असार २४ गते अनिवार्य अवकाशमा जाँदै छन्।
स्रोतका अनुसार विभागले विशेषगरी उनी राजस्व सचिव रहेका बेला गरेका निर्णय, त्यस अवधिमा आर्जित सम्पत्ति र काठमाडौंको कपन क्षेत्रमा निर्माण गरिएको भनिएको आलिशान घरको आर्थिक स्रोतबारे अनुसन्धान गरिरहेको छ। प्राप्त सूचनाका आधारमा सम्पत्तिको स्रोत पुष्टि गर्ने उद्देश्यले अनुसन्धान अघि बढाइएको विभाग निकट स्रोतको भनाइ छ।
पुष्करले यसअघि सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको सचिवका रूपमा पनि काम गरिसकेका छन्। अनुसन्धानका क्रममा उनले विभिन्न जिम्मेवारीमा रहँदा गरेका निर्णय तथा सम्पत्ति विवरणको समेत अध्ययन भइरहेको बताइएको छ।
यता प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनलाई तीव्र बनाइरहेका बेला पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि पनि अनुसन्धान जारी रहेको जनाइएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उच्च राजनीतिक तथा प्रशासनिक तहका व्यक्तिहरूको सम्पत्ति र त्यसको स्रोतबारे अनुसन्धान गरिरहेको भए पनि सचिव पुष्करविरुद्धको अनुसन्धानबारे विभागले औपचारिक धारणा सार्वजनिक गरेको छैन।
