काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले सामाखुशीस्थित ‘हाम्रो स्कूल’मा अध्ययनरत बालबालिकालाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेको छ। विद्यालयको तेस्रो वार्षिकोत्सवको अवसर पारेर संघले उक्त सहयोग प्रदान गरेको हो।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा सामाखुशीस्थित ‘हाम्रो स्कूल’को तेस्रो वार्षिकोत्सवका अवसरमा नेपाल प्रहरी श्रीमती संघले विद्यालयमा अध्ययनरत बालबालिकालाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेको हो।
संघले विद्यार्थीहरूको शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि कार्कीले दीप प्रज्वलन गरी समारोहको उद्घाटन गरेकी थिइन्। सो अवसरमा विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रमसमेत आयोजना गरिएको थियो।
विद्यालयले वार्षिकोत्सवका अवसरमा विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम प्रस्तुत गरेको थियो। कार्यक्रममा शिक्षक, अभिभावक तथा अन्य अतिथिहरूको समेत सहभागिता रहेको थियो।
विद्यालय प्रशासनले नेपाल प्रहरी श्रीमती संघबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरूको शैक्षिक र खेलकुद गतिविधिमा थप उत्साह मिल्ने विश्वास व्यक्त गरेको छ।
