बारा । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउन आउने सेवाग्राहीबाट नारायणी यातायात व्यवस्था कार्यालय परिसरमै सञ्चालन हुँदै आएको स्वास्थ्य परीक्षण सेवामा वर्षौंदेखि अपारदर्शी रूपमा शुल्क असुल भइरहेको भन्दै गुनासो बढेको छ।
स्वास्थ्य परीक्षणका नाममा सेवाग्राहीसँग तोकिएको भन्दा बढी रकम उठाइएको आरोप लागेपछि यसको छानबिनको मागसमेत उठ्न थालेको छ।
स्थानीय सेवाग्राहीहरूका अनुसार चिकित्सक राज पटेलले विगत चार वर्षदेखि लाइसेन्सका लागि आवश्यक स्वास्थ्य परीक्षणको नाममा सेवाग्राहीबाट प्रतिव्यक्ति २०० रुपैयाँका दरले रकम लिँदै आएका छन्। दैनिक ५० जनाभन्दा बढी सेवाग्राहीको स्वास्थ्य परीक्षण हुने गरेको र त्यसबापत उल्लेख्य रकम संकलन भइरहेको दाबी गरिएको छ।
सेवाग्राहीहरूले स्वास्थ्य परीक्षण शुल्कसम्बन्धी स्पष्ट सूचना, सरकारी दररेट वा आधिकारिक रसीदको व्यवस्था नदेखिएको गुनासो गरेका छन्। उनीहरूका अनुसार स्वास्थ्य परीक्षण केही मिनेटमै सम्पन्न हुने भए पनि शुल्क उठाउने प्रक्रिया पारदर्शी छैन।
नाम नखुलाउने सर्तमा एक सेवाग्राहीले स्वास्थ्य परीक्षण लाइसेन्स प्रक्रियाको अनिवार्य चरण भएकाले आफूहरू चिकित्सकले मागेको रकम तिर्न बाध्य हुने गरेको बताए। उनका अनुसार रकम तिरे पनि त्यसको आधिकारिक रसीद उपलब्ध गराइँदैन।
दैनिक ५० जनाभन्दा बढी सेवाग्राहीबाट २०० रुपैयाँका दरले शुल्क उठाइएको अवस्थामा दिनमै १० हजार रुपैयाँभन्दा बढी रकम संकलन हुने देखिन्छ। लामो समयदेखि यस्तो अभ्यास चलिरहेको दाबीका बीच यसबाट ठूलो रकम उठेको हुन सक्ने अनुमान गरिएको छ।
यद्यपि आरोपबारे सम्बन्धित चिकित्सक, नारायणी यातायात व्यवस्था कार्यालय वा अन्य सरोकारवाला निकायको प्रतिक्रिया प्राप्त हुन सकेको छैन।
सेवाग्राहीहरूले स्वास्थ्य परीक्षण शुल्कको कानुनी आधार, संकलित रकमको विवरण तथा प्रक्रिया पारदर्शी बनाउन सम्बन्धित निकायले तत्काल छानबिन गर्नुपर्ने माग गरेका छन्। साथै यातायात कार्यालय परिसरमा सञ्चालन हुने यस्ता सेवाको नियमित अनुगमन गरी शुल्क निर्धारण र कार्यान्वयनलाई व्यवस्थित बनाउनुपर्ने आवाज पनि उठ्न थालेको छ।
