धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरीले ठगीमा संलग्न गिरोहलाई भारतबाट नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र प्रदेश प्रहरी कार्यालयको टोलीले नेटवर्किङ व्यवसायका नाममा ठगी गर्ने गिरोहलाई भारतबाट नियन्त्रणमा लिइएको जनाएको छ ।
भारतीय दुतावासका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश कार्की समेतको सक्रियतामा प्रहरीले यो अप्रेसन गरेको हो । पक्राउ पर्नेहरु कैलालीसहितका जिल्लाका रहेका छन् ।
प्रहरीले उनीहरुबाट ठगिएका व्यक्तिहरु सम्पर्कमा आउने क्रम जारी रहेको जनाएको छ ।
स्रोतका अनुसार पक्राउ पर्नेहरु १३ जना रहेका छन्। उनीहरू नेटवर्किङ स्क्याम (ठगी) सम्बन्धि घटनाको अनुसन्धान गर्दा पक्राउ परेका हुन्।
भारतको उत्तराखण्डस्थित एक सहरबाट समातिएका उनीहरूलाई प्रहरीले भने कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थित गड्डाचौकी नाकाबाट नियन्त्रणमा लिई नेपाल भित्र्याएको दाबी गरेको छ।
पक्राउ पर्नेहरूमा सागर विक, सुरज विक, प्रकाश अर्याल, दिनेश काफ्ले, पंकज विक, रित भुजेल, दीपेश तामाङ, रामबलक मण्डल, प्रभाष विक, सुमन घिमिरे, धिरज सुनुवार, विक्रम परियार र विशाल खत्री रहेका छन्। प्रहरीका अनुसार उनीहरूले जागिर लगाउने भन्दै प्रलोभन देखाएर भारतमा लगेर ठग्ने र बन्धक बनाई असुली गर्ने समेत गरेका थिए।
