काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्व गृहमन्त्री सुधन गुरुङमाथि भइरहेको सम्पत्ति छानबिनप्रति कटाक्ष गर्दै सरकारको नियतमाथि प्रश्न उठाएका छन्। उनले सम्पत्ति छानबिनका नाममा सरकारले दोहोरो मापदण्ड अपनाएको आरोपसमेत लगाए।
गोरखामा आयोजित एक कार्यक्रममा बोल्दै थापाले सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने र त्यसका लागि आफूहरू तयार रहेको बताए। उनले प्रधानमन्त्री, मन्त्री तथा राज्यका उच्च पदमा पुगेका व्यक्तिहरूले पनि आफ्नो सम्पत्तिको स्रोतबारे नागरिकलाई जवाफ दिन सक्नुपर्ने धारणा राखे।
‘हामी जसरी सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाहरू पनि त्यही रूपमा तयार हुनुपर्छ,’ उनले भने, ‘नागरिकले यो उमेरमा यति धेरै सम्पत्ति कहाँबाट आयो भनेर प्रश्न गर्दा त्यसको वैध स्रोत देखाउन सक्नुपर्छ।’
थापाले सरकारको नेतृत्वमा रहेका व्यक्तिहरूले आफूलाई छानबिनको दायराभन्दा माथि राख्न खोजेको आरोप लगाए। सम्पत्ति छानबिनको विषयमा निष्पक्षता र पारदर्शिता आवश्यक रहेको उल्लेख गर्दै उनले सबैलाई एउटै मापदण्डमा राखेर अनुसन्धान गर्नुपर्ने बताए।
पूर्व गृहमन्त्री सुधन गुरुङमाथि भइरहेको छानबिनप्रति संकेत गर्दै थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। उनले छानबिनको नाममा देखावटी प्रक्रिया अघि बढाइएको टिप्पणी गर्दै व्यंग्य गरे, ‘झाँक्री पनि आफैँ, बोक्सी पनि आफैँ, कालेकाले मिलेर खाऊँ भालेजस्तो किन भइरहेको छ ? झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो।’
थापाले सुशासन स्थापित गर्न सम्पत्ति छानबिनलाई राजनीतिक प्रतिशोध वा चयनात्मक कारबाहीको माध्यम बनाउन नहुने बताए। उनले कानुनको शासन र जवाफदेहिताका लागि सबै सार्वजनिक पदाधिकारीको सम्पत्तिको स्रोत पारदर्शी रूपमा परीक्षण हुनुपर्नेमा जोड दिए।
