काठमाडौं । गृह मन्त्रालयले कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा. विवेक पन्थीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै डा. पन्थी चैत ३० गतेदेखि बिना जानकारी गैरहाजिर रहेको उल्लेख गर्दै गैरहाजिरीको कारण खुलाइ सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो।
गृह मन्त्रालयका अनुसार डा. पन्थीले गत चैत २६ गतेदेखि दुई दिनको भइपरी बिदा स्वीकृत गरी बसेका थिए। तर, बिदा समाप्त भएपछि उनी चैत ३० गतेदेखि कार्यालयमा हाजिर नभएको तथा कुनै जानकारीसमेत नदिएको जनाइएको छ।
सम्बन्धित कार्यालय तथा स्थानीय तहमार्फत खोजतलास गर्दा समेत सम्पर्कमा नआएपछि प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले गोरखापत्रमार्फत सूचना प्रकाशित गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिरीको कारण खुलाइ स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।
तोकिएको अवधिभित्र उपस्थित नभएमा प्रहरी नियमावलीअनुसार भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने चेतावनीसमेत मन्त्रालयले दिएको छ।
