झापा । दमककी २१ वर्षीया रमा तिवारी हत्या प्रकरणको सफल अनुसन्धान गरी आरोपीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेतसहित पाँच प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले अनुसन्धानमा खटिएका पाँच प्रहरीलाई नगदसहित पुरस्कृत गरेकी हुन्।
पुरस्कृत हुनेमा डीएसपी बस्नेत, प्रहरी निरीक्षक विपन विक, प्रहरी हवल्दार ज्ञानबहादुर बस्नेत, प्रहरी सहायक हवल्दार वीरेन्द्र तामाङ र प्रहरी जवान सविन मगर रहेका छन्।
प्रहरीका अनुसार दमक–८ निवासी रमा तिवारीको हत्या प्रकरणमा खटिएको टोलीले लगातार नौ दिनसम्म गहन अनुसन्धान गर्दै घटनामा संलग्न भारतीय नागरिक राकेशकुमार पण्डितलाई पक्राउ गर्न सफलता हासिल गरेको थियो।
जटिल मानिएको उक्त घटनाको अनुसन्धानलाई निष्कर्षमा पुर्याई आरोपीलाई कानुनी दायरामा ल्याउन सफल भएको भन्दै जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान टोलीको कामको प्रशंसा गर्दै पुरस्कृत गरेको जनाएको छ।
