कपिलवस्तु । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बेला दुई फरक कारागारबाट दुई पटकसम्म फरार हुन सफल एक कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कपिलवस्तुको महाराजगन्ज नगरपालिका–६ बन्जरियाका ५८ वर्षीय राम जैस मौर्य रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले नेपाल-भारत सीमा क्षेत्र नजिकबाट नियन्त्रणमा लिएको हो।
मौर्यलाई कर्तव्य ज्यान मुद्दामा कपिलवस्तु जिल्ला अदालतले २०६३ माघ २२ गते पाँच वर्ष कैद र २०६५ माघ ६ गते अर्को फैसलामार्फत २० वर्ष जन्मकैदको सजाय सुनाएको थियो। त्यसपछि उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार कपिलवस्तु पठाइएको थियो।
तर, २०६६ माघ १ गते राति मौर्यसहित आठ जना कैदीले कारागारभित्र सुरुङ खनेर फरार भएका थिए। उक्त घटनापछि कारागारबाट थुनुवा भगाएको अभियोगमा अदालतले उनलाई थप २५ वर्ष ३ महिना ३ दिन कैद सजाय सुनाएको थियो। पछि तत्कालीन पुनरावेदन अदालत बुटवलले २०६९ असोज १५ गते उक्त सजाय संशोधन गर्दै कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद कायम गरेको थियो।
सुरुङ खनेर भागेका मौर्यलाई प्रहरीले २०६८ असार १३ गते पुनः पक्राउ गरेको थियो। त्यसपछि उनलाई कैद भुक्तानका लागि ललितपुरस्थित नख्खु कारागार पठाइएको थियो।
नख्खु कारागारमा सजाय भोगिरहेका मौर्य गत वर्ष कारागारभित्र भएको ‘जेन्जी आन्दोलन’ का क्रममा २०८२ भदौ २४ गते पुनः फरार भएका थिए। त्यसयता फरार रहेका उनको खोजी कार्य प्रहरीले जारी राखेको थियो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई २०८३ जेठ २४ गते कृष्णनगर नगरपालिका–१ कुकुरभुकुवास्थित सीमा क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ परेका मौर्यलाई बाँकी कैद सजाय कार्यान्वयनका लागि जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएको थियो। अदालतको आदेशपछि उनलाई पुनः कारागार कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ।
