काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११ तिमाल क्षेत्रमा भएको बुद्धचित्त (रुद्राक्ष) मालाको कारोबार विवादले प्रहरीमाथि नै प्रश्नचिन्ह खडा गरेको छ। वडाबाट प्रमाणित कागजातका आधारमा गरिएको भनिएको एग्रिमेन्ट हुँदाहुँदै प्रहरीले खरिद–बिक्री सम्झौतामा संलग्न व्यक्तिलाई पक्राउ गरेपछि काभ्रे प्रहरीको भूमिकामाथि प्रश्न उठ्न थालेको हो।
प्राप्त विवरणअनुसार बुद्धचित्त मालाका तीन जना धनीमध्ये सबैको सहमतिमा जोन लामासँग करिब डेढदेखि दुई लाख रुपैयाँमा एग्रिमेन्ट गरिएको थियो। उक्त कारोबारसँग सम्बन्धित कागजात वडा कार्यालयमा प्रमाणित गरिएको छ। जुन कागजात हेर्नुहोस्
बुद्धचित्त बिक्रीसम्बन्धी कारोबार वडा कार्यालयमा दर्ता भएपछि राज्यलाई लाग्ने राजस्व तथा करसमेत तिर्नुपर्ने व्यवस्था रहेको छ। तर, यसअघि करिब एक वर्षअघि तीमध्ये एक धनीले सोही मालासँग सम्बन्धित विषयमा २५-३० हजार रुपैयाँमा सामान्य कागज गरी अर्को व्यक्तिसँग सम्झौता गरेको बताइन्छ। उक्त कागज वडा कार्यालयमा दर्ता नभएको दाबी गरिएको छ।
विवाद बढेपछि करिब दुई साताअघि विषय जिल्ला प्रहरी कार्यालय काभ्रेसम्म पुगेको थियो। स्रोतका अनुसार प्रारम्भिक छलफलका क्रममा प्रहरीले ‘वडाबाट भएको कागजअनुसार अघि बढ्न’ सुझाव दिएर पक्षहरूलाई फर्काएको थियो। तर त्यसपछि परिस्थितिमा परिवर्तन आएको र वडाबाट अर्को कागज तयार गराइएको पाइएको छ।
सोही कागजलाई आधार बनाएर आज काभ्रे प्रहरीले एग्रिमेन्टकर्ता जोन लामालाई पक्राउ गरेको छ। यस विषयमा स्थानीय स्तरमा प्रहरीको भूमिकाबारे विभिन्न प्रश्न उठ्न थालेका छन्।
प्रश्न उठाउनेहरूका अनुसार यदि कुनै कानुनी त्रुटि भएको भए त्यसको मुख्य जिम्मेवारी मालाका धनी वा विक्रेतापक्षमाथि जानुपर्ने थियो। तर विक्रेतापक्षमाथि कुनै कारबाही नगरी एग्रिमेन्टकर्ता मात्र पक्राउ गरिनुले शंका उत्पन्न गरेको उनीहरूको भनाइ छ।
यसै विषयमा काभ्रेका रोशनराज पाण्डेयले पनि सामाजिक सञ्जालमार्फत काभ्रे प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन्।
उनले फेसबुकमा लेखेका छन्- ‘यति सम्मको घृणित कार्य काभ्रे प्रहरी प्रमुखबाट हुन्छ भन्ने मैले कल्पनासम्म गरेको थिइनँ। यो कानुनको शासनमाथिको उपहास, अधिकारको दुरुपयोग र नागरिकको विश्वासमाथिको गम्भीर प्रहार हो।’
घटनामा मुख्यतः नायब उपरीक्षक (डिएसपी) रबिन बिष्टको भूमिकामाथि बढी प्रश्न उठिरहेको छ । डिएसपी बिष्ट तिनै प्रहरी अधिकृत हुन् जो बालाजु वृत्तको प्रमुख हुँदा बालाजुमा लुटपाट आतंक मच्चिएको थियो । प्रहरीको कमजोर कमाण्डका कारण बालाजु क्षेत्र राज्यको नियन्त्रण बाहिर पुगेको थियो । डिएसपी बिष्टको गाडी समेत आन्दोलनकारीले जलाइदिएका थिए ।
जून घटनामा उनलाई त्यहाँबाट हटाएर कारबाही गरिएको थियो । प्रहरी संगठनभित्र पनि उनीबारे मिश्रित टिप्पणी हुने गरेको स्रोतहरू बताउँछन् ।
प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुँदा रुपन्देहीको बेलैया बस्दा पनि डिएसपी बिष्ट घुस काण्डमा मुछिएका थिए। जतिबेला उनले आफ्नो खातामा प्रभु मनि ट्रान्सफरबाट ५० हजार हाल्न लगाएका थिए ।
जतिबेला रुपन्देही प्रहरी प्रमुख रहेका श्यामलाल ज्ञवालीले थाहा पाएपछि निलम्बन गर्न खोजे पनि उनी तत्कालिन काङ्ग्रेस नेताको आडमा जोगिएका थिए ।
काभ्रेमा समेत डिएसपी बिष्टको सक्रियताबारे विभिन्न कोणबाट चर्चा भइरहेको छ । बुद्धचित्त माला विवादमा वडाबाट पहिले नै कागज प्रमाणित भइसकेको अवस्थामा पुनः अर्को कागज बनाउन दबाब उनै बिष्टले दिएको भन्ने आरोप सम्बन्धित पक्षले लगाएका छन् । सोही कागजलाई आधार बनाएर एग्रिमेन्टकर्ता जोन लामालाई पक्राउ गरिएको भन्दै प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ ।
यस घटनामा डिएसपी बिष्टको विशेष चासो किन देखियो भन्ने विषयमा समेत स्थानीयस्तरमा जिज्ञासा बढेको छ । यदि वडाबाट प्रमाणित भएको पहिलो कागजात वैधानिक थियो भने त्यसलाई बेवास्ता गरेर अर्को प्रक्रिया किन अघि बढाइयो भन्ने प्रश्न उठाइएको छ ।
यता, नेपाली कांग्रेसका युवा नेता रोशनराज पाण्डेयले घटनामा जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपीको भूमिकामाथि पनि असन्तुष्टि व्यक्त गरेका छन् । उनकाअनुसार कार्यालय प्रमुखका रूपमा एसपी रबिन कार्कीले पनि घटनाको निष्पक्ष छानबिन र कानुनी प्रक्रियाको सुनिश्चितता गर्नुपर्ने थियो ।
तर, कार्यालय प्रमुखको हैसियतले यो घटनाको मुख्य जवाफदेहिता एसपी कार्कीमाथि पनि आउने जानकारहरू बताउँछन् । यसअघि पनि विभिन्न निर्णय र कमाण्ड शैलीका कारण उनी विवादमा तानिएका थिए । अहिले बुद्धचित्त माला विवादमा पनि उनको भूमिकामाथि प्रश्न उठ्न थालेको छ ।
स्थानीय स्रोतहरूले डिएसपी बिष्टको सक्रियता अस्वाभाविक रहेको दाबी गरेका छन्। यता कार्यालय प्रमुखका रूपमा एसपी कार्कीले समेत घटनाको निष्पक्ष छानबिन सुनिश्चित गर्नुपर्ने आवाज उठ्न थालेको छ।
यस विषयमा बुझ्न काभ्रेका एसपी कार्कीलाई सम्पर्क गर्दा सम्पर्क भएन ।
