चितवन । अत्यधिक गर्मीका कारण विद्यालय बन्द भए पनि नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनले विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन नयाँ अभ्यास सुरु गरेको छ। विद्यालयले गर्मी बिदामा रहेका विद्यार्थीको घर–घरमा शिक्षक पठाएर अध्ययन अवस्था, गृहकार्य, अनुशासन र पारिवारिक वातावरणबारे जानकारी लिने अभियान सञ्चालन गरेको हो।
गर्मी बढेसँगै नियमित कक्षा सञ्चालन गर्न कठिन भएपछि विद्यालयले केही दिनका लागि गर्मी बिदा दिएको छ। शनिबार र आइतबारको सार्वजनिक बिदासहित विद्यार्थीहरू करिब नौ दिन घरमै बस्नुपर्ने भएकाले विद्यालयले शिक्षक–शिक्षिकालाई विद्यार्थीको घरमै पुगेर अध्ययन तथा गृहकार्यमा सहजीकरण गर्न परिचालन गरेको जनाएको छ।
विद्यालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई बिदाको समयमा पनि अध्ययनमा सक्रिय राख्न गृहकार्य, कार्यपत्र तयार गर्ने, व्यावहारिक अभ्यास गर्ने लगायतका जिम्मेवारी दिएको छ। ती गतिविधि प्रभावकारी रूपमा कार्यान्वयन गराउन शिक्षकहरू घरमै पुगेर विद्यार्थी तथा अभिभावकसँग अन्तर्क्रिया गरिरहेका छन्।
विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाका अनुसार विद्यार्थीको अध्ययन अवस्था, अभिभावकका सुझाव–गुनासा तथा विद्यार्थीको पढाइप्रतिको रुचिलाई आधार बनाएर समूह विभाजन गरी शिक्षक तथा कर्मचारीलाई ‘होम भिजिट’मा खटाइएको हो।
होम भिजिटका क्रममा शिक्षकहरूले विद्यार्थीको अनुशासन, अध्ययन वातावरण, गृहकार्यको प्रगति तथा शिक्षण–सिकाइ सुधारमा अभिभावकको भूमिकाबारे जानकारी लिने र आवश्यक परामर्श दिने गरेका छन्। साथै विद्यालयले दिएको गृहकार्य प्रभावकारी रूपमा सम्पन्न गर्न अभिभावक र विद्यार्थीलाई सहजीकरण समेत गरिएको छ।
समादेशक थापाका अनुसार विद्यालय समयमा समेत मोबाइल, ल्यापटप तथा सामाजिक सञ्जालमा सक्रिय रहने विद्यार्थीहरू बिदाका बेला अझ बढी यस्ता माध्यममा व्यस्त हुन सक्ने भएकाले अध्ययनलाई निरन्तरता दिन शिक्षकमार्फत निगरानी र प्रेरणाको व्यवस्था गरिएको हो।
घरमै बसेर अभिभावकसँग प्रत्यक्ष संवाद गर्दा विद्यार्थीको अध्ययनको महत्व, घरमा अध्ययन गर्ने उचित तरिका तथा गृहकार्यमा अभिभावकले खेल्नुपर्ने भूमिकाबारे प्रभावकारी रूपमा जानकारी दिन सकिने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
पठनपाठनसँगै शिक्षकहरूले अभिभावक तथा विद्यार्थीलाई सुरक्षा सचेतना पनि प्रदान गरिरहेका छन्। सवारी दुर्घटना न्यूनीकरण, घरेलु हिंसाले बालबालिकाको शिक्षामा पार्ने प्रभाव, विद्यार्थीका सामु अभिभावकले देखाउनुपर्ने व्यवहार तथा सामाजिक सञ्जालको दुरुपयोगबाट हुन सक्ने अपराधबारे समेत सचेत गराइएको छ।
नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनले शिक्षा, अनुशासन, सुरक्षा र सामाजिक उत्तरदायित्वसम्बन्धी विभिन्न अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीलाई ज्ञान, सीप र व्यवहारिक शिक्षा प्रदान गर्दै आएको विद्यालय प्रशासनले जनाएको छ।
