काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेश काफ्लेले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका छन्।
हालै विशेष ब्युरोबाट काज सरुवामार्फत उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्वमा पठाइएका काफ्लेले सोमबार कार्यालय पुगेर औपचारिक रूपमा जिम्मेवारी ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै एसएसपी काफ्लेले ट्राफिक प्रहरीले हालसम्म गर्दै आएका प्रभावकारी कामलाई निरन्तरता दिँदै आगामी दिनमा थप ऊर्जा, व्यावसायिकता र त्रुटिरहित ढंगले सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। उनले सडक प्रयोगकर्ताको भावना र आवश्यकतालाई केन्द्रमा राखेर ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाइने बताए।
पदभार ग्रहणपछि आयोजित कार्यक्रममा उनले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा सेवाप्रवाहलाई थप सुदृढ बनाउन मातहतका प्रहरी कर्मचारीलाई सक्रिय र जिम्मेवार ढंगले काम गर्न आग्रह गरेका थिए।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय नेपाल प्रहरीको महत्वपूर्ण इकाइमध्ये एक हो। दैनिक लाखौं सवारी साधनको व्यवस्थापन तथा ट्राफिक नियम कार्यान्वयनको जिम्मेवारी रहेको यो कार्यालयको नेतृत्वमा काफ्ले आएपछि सेवाप्रवाह र व्यवस्थापनमा थप सुधार हुने अपेक्षा गरिएको छ।
नवनियुक्त प्रमुख काफ्लेलाई कार्यालयका प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूले स्वागत गरेका थिए।
यसैबीच, पदभार ग्रहणपछि एसएसपी काफ्लेले उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षक सचिवालयअन्तर्गत उजुरी छानबिन महाशाखा, नक्सालमा काज सरुवा भएका एसएसपी नवराज अधिकारीलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए।
एसएसपी अधिकारीले करिब १ वर्ष उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व सम्हालेका थिए। आयोजित कार्यक्रममा उनले अधिकारीको व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक जीवनको सफलताको शुभकामना व्यक्त गर्दै बिदाइ गरेका थिए।
