धनगढी । धनगढीस्थित भाटभटेनी सुपर स्टोर अगाडि भएको झडपको भिडियो सार्वजनिक भएपछि घटनाले नयाँ मोड लिएको छ। घटनामा संलग्न रहेको भनिएको हङ्ग्री क्याफेका एक कर्मचारीले आफूमाथि कुटपिट र अपहरण प्रयास भएको आरोप लगाएका छन्।
पीडितका अनुसार घटना हुनुभन्दा दुई दिनअघि मोटरसाइकलको हाईबिम बत्तीलाई लिएर केही युवासँग सामान्य विवाद भएको थियो। त्यसक्रममा आफूलाई गालीगलौज गर्दै कुटपिट गरिएको र धम्कीसमेत दिइएको उनले बताएका छन्।
उनको दाबीअनुसार विवादपछि कुरा मिलाउने प्रयास भए पनि जेठ १७ गते ५–६ जनाको समूह क्याफेभित्र प्रवेश गरी आफूलाई कुटपिट गर्दै बाहिर लैजान खोजेको थियो। समूहले जबर्जस्ती मोटरसाइकलमा चढाएर लैजान खोजेको र स्थानीयको हस्तक्षेपका कारण थप अप्रिय घटना हुन नपाएको उनको भनाइ छ।
घटनापछि आफ्नो सुरक्षा जोखिममा परेको भन्दै उनले संलग्न व्यक्तिमाथि कानुनी कारबाहीको माग गरेका छन्।
यसैबीच, घटनासँगै भाटभटेनी क्षेत्रमा गठन गरिएको भनिएको ‘भाटभटेनी फोटोग्राफर एसोसिएसन’ पनि विवादमा परेको छ। उक्त समिति कानुनी रूपमा दर्ता नभएको बताइएको छ। धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐरले समितिबारे वडामा कुनै जानकारी नरहेको बताएका छन्।
आइतबार भाटभटेनी क्षेत्रमा फोटो खिच्ने विषयलाई लिएर दुई समूहबीच विवाद भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले दुवै पक्षका १४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
स्थानीय स्रोतहरूका अनुसार पछिल्लो समय धनगढीमा युवाहरू समूह बनाएर गतिविधि सञ्चालन गर्ने, सामाजिक सञ्जालमार्फत एकअर्काविरुद्ध उक्साहटपूर्ण गतिविधि गर्ने र झडपमा उत्रिने प्रवृत्ति बढ्दै गएको छ। भाटभटेनी घटनालाई पनि त्यही शृंखलाको रूपमा हेरिएको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
