भक्तपुर । भक्तपुरमा पत्नीको हत्या आरोपमा पक्राउ परेका ३८ वर्षीय विदुर विश्वकर्माले श्रीमती सलिना तोलाङ्गे विश्वकर्मा परपुरुषसँग निकट रहेको आशंकाका कारण घटना भएको बयान दिएका छन्।
भक्तपुर नगरपालिका–१० छालिङ रोडस्थित सैनिक ब्यारेक पछाडि बुधबार राति ३३ वर्षीया सलिना तोलाङ्गेको खुकुरी प्रहारबाट हत्या भएको थियो। घटनापछि प्रहरीले उनका श्रीमान् विदुरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी प्रकाश जवेगुका अनुसार प्रारम्भिक बयानका क्रममा विदुरले तीन पुरुषको नाम उल्लेख गर्दै पत्नी उनीहरूसँग निकट रहेको शंका व्यक्त गरेका छन्। तर प्रहरीले हालसम्म उक्त दाबी पुष्टि हुने कुनै आधार फेला नपरेको जनाएको छ।
डीएसपी जवेगुले आरोपीको मानसिक अवस्था र बयानलाई समेत अनुसन्धानको विषय बनाइएको बताउँदै घटनाको वास्तविक कारणबारे निष्कर्षमा पुग्न बाँकी रहेको जानकारी दिए। प्रारम्भिक बयानमा विदुरले विभिन्न पुरुषसँग पत्नीको सम्बन्ध रहेको शंका लाग्ने गरेको र मदिरा सेवनपछि आफू उत्तेजित हुँदा घटना भएको बताएका छन्।
घटनाका क्रममा बाबुआमाबीच भएको झगडामा उनीहरूका आठ वर्षीय छोरा समेत घाइते भएका थिए। उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल जिल्ला प्रहरी परिसर भक्तपुरको बालमैत्री कक्षमा राखिएको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाका अनुसार दम्पतीबीच बेलाबेला विवाद र झगडा हुने गरेको थियो। साँझपख उनीहरूको डेराबाट झगडाको आवाज सुनिनु सामान्यजस्तै बनेको छिमेकीहरूको भनाइ छ। उनीहरूका अनुसार विदुरले अत्यधिक मदिरा सेवन गर्ने र होहल्ला गर्ने गरेका कारण टोलमा समेत उनको व्यवहारप्रति असन्तुष्टि थियो।
प्रहरीका अनुसार विदुर पेशाले सवारी चालक हुन् भने सलिना केही समयदेखि जण्डिस रोगबाट पीडित थिइन्। घटना हुनुभन्दा केही दिनअघि मात्र उनी उपचारका लागि काठमाडौंस्थित अस्पतालमा भर्ना भएर घर फर्किएकी थिइन्।
प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान जारी रहेको जनाएको छ।
