रसुवा । हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले १९ लाख ५२ हजार १०० रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३ स्थायी घर भएका ३५ वर्षीय मिङमारछिरिङ गुरुङ रहेका छन्।
अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको प्रहरी टोलीले उनलाई गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चे बजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनी स्याफ्रुबेसीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४८०७ नम्बरको सुमो गाडीमा सवार थिए।
प्रहरीले उनको साथबाट ठूलो परिमाणमा नगद बरामद गरेपछि नियन्त्रणमा लिएको जनाएको छ। बरामद रकममध्ये एक हजार दरका एक हजार ८४५ थान, पाँच सय दरका २१३ थान र एक सय दरका ६ थान नोट रहेका छन्। यसरी जम्मा १९ लाख ५२ हजार १०० रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
बरामद रकमको स्रोत खुल्न नसकेपछि हुन्डी कारोबारसँग सम्बन्धित विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
