काठमाडौं । कैलालीको घोडाघोडीमा साँझको वाकिङका क्रममा इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीमाथि दुर्व्यवहार भएको छ।
प्रहरीका अनुसार सुरक्षागार्डसहित हिडिरहेका डीएसपी चौधरीमाथि स्थानीय नेत्र शाहीसहित तीन जनाले दुर्व्यवहार गरेका हुन्। घटनापछि इलाका प्रहरी कार्यालय सुखडले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रहरी स्रोतका अनुसार दुर्व्यवहारमा संलग्न व्यक्तिहरूले मदिरा सेवन गरेका थिए। उनीहरूले डीएसपी चौधरीसँग हिड्ने क्रममा सामान्य ठोक्किएको र उनी प्रहरी अधिकृत भएको थाहा पाएपछि तत्काल माफी मागेको दाबी गरेका छन्।
यद्यपि, उक्त घटनापछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको छ। पक्राउ परेकाहरूले भने माफी मागिसक्दा पनि आफूहरूमाथि मुद्दा चलाइएको गुनासो गरेका छन्।
डीएसपी चौधरीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। घटनाको वास्तविकता र दुर्व्यवहारको प्रकृतिबारे अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।
