रुपन्देही । नेपाल भ्रमणमा रहेका भारतीय सेनाको गोरखा ब्रिगेडका अध्यक्ष लेफ्टिनेन्ट जनरल सञ्जीव चौहान रुपन्देही पुगेका छन्। उनले बुटवलमा आयोजित पूर्व गोर्खा सैनिक तथा उनीहरूका परिवारसँगको भेटघाट तथा सम्मान कार्यक्रममा सहभागिता जनाएका हुन्।
बुटवल उपमहानगरपालिका–२ फूलबारीमा शनिबार आयोजित कार्यक्रममा पूर्व गोर्खा सैनिक र परिवारजनको उल्लेख्य उपस्थिति रहेको थियो। अवकाशप्राप्त सुबेदार होमबहादुर दगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेफ्टिनेन्ट जनरल चौहान प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमपछि चौहान नेतृत्वको टोलीले बुटवल–११ कालिकानगरस्थित एक होटलमा पुगेर प्रथम गोर्खा राइफल्सका पूर्वसैनिकहरूसँग अन्तरक्रिया तथा भेटघाट गरेको थियो।
भारतीय सेनाको टोली हाल तिलोत्तमा नगरपालिका–१४ स्थित टाइगर प्यालेस रिसोर्टमा बसेको छ। टोली आइतबार सुनौली नाका हुँदै भारतको गोरखपुर पुगेर त्यसपछि नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
यसअघि चौहानले काठमाडौं र पोखरामा आयोजित विभिन्न कार्यक्रममा समेत सहभागिता जनाइसकेका छन्। पहिलो गोर्खा राइफल्सको जिम्मेवारी सम्हालिरहेका उनी भारतीय सेनाको स्ट्राटेजिक फोर्स कमान्डका उपप्रमुखसमेत हुन्। उनी गत सोमबार नयाँ दिल्लीबाट काठमाडौं आएका थिए।
